पोखरा । लायन्स क्लब अफ पोखरा आफ्नो स्थापना भएको ५० वर्ष (स्वर्ण जयन्ती) पूरा भएको ऐतिहासिक अवसरलाई स्मरणीय बनाउँदै आगामी मङ्सिर ५ गते पोखरा इभेन्ट सेन्टरमा स्वर्ण महोत्सव भव्यताका साथ मनाउने भएको छ।
वि.सं. २०३३ साल कात्तिक २५ गते (१० नोभेम्बर १९७६) पोखराका अग्रज समाजसेवी, व्यवसायी तथा बुद्धिजीवीको सक्रिय पहलमा स्थापित लायन्स क्लब अफ पोखरा नेपालमा लायन्स आन्दोलनको अग्रणी क्लबमध्ये एक हो। पाँच दशकको यात्रामा क्लबले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, विपद् राहत, सामाजिक सेवा, मानवीय सहायता तथा नेतृत्व विकासका क्षेत्रमा पुर्याएको योगदान अनुकरणीय मानिन्छ।
क्लबले आफ्नो ५० वर्षे गौरवपूर्ण इतिहासलाई केवल उत्सवका रूपमा मात्र नभई सेवा, समर्पण र सामाजिक उत्तरदायित्वको स्वर्णिम यात्राको उत्सव का रूपमा मनाउने जनाएको छ। क्लबका अनुसार स्वर्ण महोत्सवले संस्थापक अग्रजको योगदानको सम्मान गर्दै भावी पुस्तालाई सेवाभाव, नेतृत्व र सामाजिक उत्तरदायित्वप्रति प्रेरित गर्ने विश्वास लिइएको छ।
स्वर्ण महोत्सवलाई ऐतिहासिक, व्यवस्थित र भव्य बनाउन क्लबले मूल समारोह समिति, मूल आयोजक समिति तथा वित्त, स्मारिका प्रकाशन, कार्यक्रम व्यवस्थापन, सम्मान, आवास–यातायात, खानपान, स्वास्थ्य सेवा, हेल्प डेस्क, सांस्कृतिक कार्यक्रम, अतिथि सत्कार, प्राकृतिक चिकित्सालय भवन हस्तान्तरणलगायत विभिन्न समिति तथा उपसमितिहरू गठन गरी तयारीलाई तीव्रता दिएको छ। विभिन्न उपसमितिले आफ्नो जिम्मेवारीअनुसार तयारी अघि बढाइसकेको क्लबले जनाएको छ।
स्वर्ण महोत्सवको अवसरमा संस्थापक सदस्य तथा अग्रज लायन्सहरूको सम्मान, सामाजिक सेवासम्बन्धी विशेष कार्यक्रम, स्मारिका प्रकाशन, सांस्कृतिक प्रस्तुति, विशिष्ट अतिथिको सहभागिता तथा लायन्स आन्दोलनको पाँच दशक लामो इतिहास झल्काउने विविध कार्यक्रम समावेश गरिने तयारी रहेको बताइएको छ ।
लायन्स क्लब अफ पोखराले विगत ५० वर्षदेखि ूध्भ क्भचखभू भन्ने लायन्सको मूल मन्त्रलाई आत्मसात गर्दै हजारौं नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने सामाजिक अभियान सञ्चालन गर्दै आएको छ। क्लबले स्वास्थ्य शिविर, रक्तदान, छात्रवृत्ति, वातावरण संरक्षण, प्राकृतिक विपद्मा राहत तथा विभिन्न मानवीय सेवामूलक कार्यक्रममार्फत समाजमा विशिष्ट पहिचान स्थापित गरेको छ।
क्लबका अध्यक्ष डा.माधव तिवारी ले स्वर्ण महोत्सव केवल एउटा वार्षिकोत्सव नभई लायन्स क्लब अफ पोखराको गौरवशाली इतिहास, वर्तमान उपलब्धि र आगामी पुस्ताका लागि सेवाको नयाँ संकल्प प्रस्तुत गर्ने ऐतिहासिक अवसर भएको बताउनुभयो। उहाँले सम्पूर्ण लायन्स सदस्य, पूर्वअध्यक्ष, शुभेच्छुक, सामाजिक अभियन्ता तथा आम नागरिकलाई यस ऐतिहासिक महोत्सवमा सहभागी भई कार्यक्रमलाई सफल बनाउन आग्रह गरेका छन् ।
लायन्स आन्दोलनको इतिहासमा विशेष महत्व राख्ने यस स्वर्ण महोत्सवले पोखराको सामाजिक इतिहासमा समेत एउटा नयाँ अध्याय थप्ने अपेक्षा गरिएको छ। सेवा, समर्पण र नेतृत्वको आधा शताब्दी पूरा गरेको लायन्स क्लब अफ पोखरा को यो स्वर्णिम यात्रा भावी पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने विश्वास क्लबले लिएको छ।



Comments are closed.