‘लायन्स डिष्ट्रिक्ट ३२५ जे’को दोस्रो क्याबिनेट मिटिङ बागलुङमा, पर्यटन प्रवर्द्धनको उद्देश्य

बागलुङ । ‘लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ जे, नेपाल’को दोस्रो क्याबिनेट मिटिङ बागलुङमा हुने भएको छ । यही कात्तिक ३० र मंसिर १ बागलुङ बजारमा क्याबिनेट मिटिङ हुनेछ ।

बागलुङ तथा धौलागिरी क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा थप परिचित गराउँदै पर्यटन प्रवर्द्धनमा समेत क्याबिनेट मिटिङले सकारात्मक योगदान गर्ने डिष्ट्रिक्ट गभर्नर मिलन थापाको विश्वास छ । ‘हामीले सामाजिक कार्यक्रमहरु सम्पादन गर्दा मोफसलका जिल्लालाई सधैं प्राथमिकतामा राखेका छौं,’ गभर्नर थापाले भनिन्, ‘क्याबिनेट मिटिङ जस्ता ठूला कार्यक्रमलाई पनि हामीले पोखरा र काठमाडौंमा मात्रै सीमित राखेका छैनौं । बालगुङमा कार्यक्रम आयोजना गर्न पाउँदा गौरव महसुस भएको छ ।’

कार्यक्रम सफल बनाउन धौलागिरी क्षेत्रका लायन्स क्लबहरुको सक्रियता बढिरहेको गभर्नर थापाले बताइन् । डिष्ट्रिक्ट अन्तर्गतका क्लब र डिष्ट्रिक्ट लिडरहरुले जतिसक्दो छिटो रजिष्ट्रेसन गरी आयोजकलाई सहज बनाउन पनि उनको आग्रह छ ।

नेपाल भित्रको सानो नेपालको नामले परिचित बागलुङलाई झोलुङ्गे पुलहरुको जिल्लाले पनि चिनिन्छ । दक्षिण एसियाको पहिलो अग्लो र लामो झोलुङ्गेपुल गण्डकी गोल्ड्रेन ब्रिजले जिल्लाको पहिचान बढाउदै लगेको छ । प्राकृतिक श्रोत र सम्पदाहरुको सौन्दर्यले भरिपूर्ण एकमात्र शालिग्राम उत्पादन गर्ने कालिगण्डकी नदिको तिरदेखि नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटन आरक्षको शिरसम्म फैलिएको भुगोलमा कालिका भगवति मन्दिर, शालिग्राम संग्रालय, भैरव स्थान मन्दिर, सर्वसिद्धिधाम पञ्चकोट, जैमिनीनिश्वर मन्दिर, गाजाको दह, त्रिपुरेश्वर मन्दिर, थन्थापिमाई भगवति मन्दिर, घुम्टेको लेक, शिवपुरि, कालिलेक, एतिहासिक गल्कोट दरवार, गाईघाट झरना, ब्राहा मन्दिर, ढोरपाटन ताल, ज्ञानोदय बुद्धविहार, हाडिकोटको धुरी सयौं क्षेत्र लगायतका सम्पदाहरु छन् । यी धार्मिक तथा पर्यटकीय गन्तव्यहरुको प्रवर्द्धनमा पनि क्याबिनेट मिटिङले योगदान गर्ने आयोजकको विश्वास छ ।

कार्यक्रममा एक हजार लायन्स सदस्यहरुको उपस्थिति हुने आयोजकको विश्वास छ ।

हाल लायन्स डिष्ट्रिक्क ३२५ जे अन्तर्गत नेपालमा सय भन्दा बढी क्लब छन् भने धौलागिरि क्षेत्रमा २१ वटा क्लव छन् । २१ सय भन्दा बढी सदस्य आबद्ध छन् ।

 

You might also like

Comments are closed.