लिटल फ्लावरमा पुरस्कार वितरण र सांस्कृतिक कार्यक्रम सम्पन्न

लेखनाथ । लिटल फ्लावर एजुकेशनल सेकेण्डरी स्कुल, पोखरा महानगरपालिका वडा नं. २७ रिठेपानीमा आयोजित त्रिदिवसीय शैक्षिक, खेलकुद तथा सांस्कृतिक कार्यक्रम शनिबार पुरस्कार वितरणसँगै सम्पन्न भएको छ ।

विद्यार्थीहरूको बहुआयामिक प्रतिभा पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा शैक्षिक उपलब्धि, खेलकुद प्रतिस्पर्धा तथा बाल प्रतिभा पहिचान अन्तर्गत भाषणकला, कविता वाचन, गायन, नृत्य र नाटक विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र तथा ट्रफी प्रदान गरिएको थियो ।

समापन समारोहमा प्रमुख वक्ताका रूपमा बोल्दै राष्ट्रिय परीक्षा व्यवस्थापन कार्यालय गण्डकी प्रदेश का शिक्षा अधिकृत इन्द्रप्रसाद तिमिल्सेनाले शिक्षाले व्यक्तित्व निर्माण मात्र नभई राष्ट्र निर्माणको आधार तयार पार्ने उल्लेख गर्दै विद्यार्थीहरूलाई अनुशासन, परिश्रम र मूल्य–मान्यतासहित अध्ययनमा लाग्न आग्रह गरे। उनले ज्ञानसँगै संस्कार र देशप्रेमको भाव विकास गर्नुपर्नेमा जोड दिँदै “पढाइसँगै आफ्नो मातृभूमिप्रतिको दायित्व नबिर्सनु” पर्ने बताए ।

विद्यालयका प्रिन्सिपल बिकल पौडेलले संस्थाको भावी कार्ययोजना प्रस्तुत गर्दै गुणस्तरीय शिक्षाका लागि प्रविधिमैत्री कक्षा, सह–पाठ्यक्रम गतिविधि विस्तार र भौतिक पूर्वाधार सुदृढीकरणलाई प्राथमिकतामा राखिएको जानकारी दिए। उनले विद्यालय परिवार, अभिभावक तथा समुदायबीच सहकार्य बढाउँदै समग्र शैक्षिक वातावरणलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमको सञ्चालन एकेडेमिक डिन विचित्र न्यौपानेले गरेका थिए भने स्वागत मन्तव्य विद्यार्थी आगमन बराल र +२ संयोजक विष्णुहरि पौडेलले राखेका थिए। विद्यालय व्यवस्थापन समिति अध्यक्ष तिलकसिंह गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय सञ्चालक कार्यबाहक अध्यक्ष तेज्यू गुरुङ, नेसनल प्याव्सन नेपाल का केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा केन्द्रीय परीक्षा उपसमिति संयोजक ज्ञानेन्द्र मोहन भट्टराई, केन्द्रीय व्यवस्थापन उपसमिति संयोजक कमल रानाभाट, केन्द्रीय सहकोषाध्यक्ष शिवदत्त तिवारी, कास्की अध्यक्ष रोशन कोइराला, प्रगतिचोक आमा समाज अध्यक्ष देवी गुरुङ, राइजिङ स्टार युथ क्लब अध्यक्ष तिलबहादुर गुरुङ तथा हिसान कास्की अध्यक्ष दिवाकर जैसी लगायतले विद्यालयको शैक्षिक उन्नति र विद्यार्थीको सर्वाङ्गीण विकासका लागि शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमको अवसरमा विभिन्न सांस्कृतिक प्रस्तुतिहरूले विशेष आकर्षण थपेका थिए । विद्यार्थीहरूले प्रस्तुत गरेका देशभक्ति गीत, लोकनृत्य तथा सन्देशमूलक नाटकले दर्शकको मन जितेको विद्यालयले जनाएको छ । साथै, कार्यक्रमकै क्रममा विद्यालयको नयाँ भवनको शिलान्याससमेत गरिएको थियो, जसबाट आगामी दिनमा पठन–पाठनका लागि थप अनुकूल वातावरण निर्माण हुने विश्वास व्यक्त गरिएको छ ।

नर्सरीदेखि कक्षा १२ सम्म अध्यापन हुने यस विद्यालयमा करिब ७०० विद्यार्थी अध्ययनरत छन् । विद्यालय प्रशासनका अनुसार आगामी दिनमा शैक्षिक गुणस्तर अभिवृद्धिसँगै खेलकुद र सांस्कृतिक गतिविधिलाई संस्थागत रूपमा थप विस्तार गरिने योजना रहेको छ ।

You might also like

Comments are closed.