काठमाडौं । बजारमा पछिल्लो समय देखिएको एलपीजी खाना पकाउने ग्यासको अभाव समाधान गर्न घरायसी प्रयोगलाई पहिलो प्राथमिकता दिने निर्णय गरिएको छ । नेपाल आयल निगम र ग्यास बिक्रेताका प्रतिनिधिबीच भएको छलफलपछि यस्तो सहमति भएको हो।
बजारमा ग्यास सिलिन्डर आपूर्ति भइरहे पनि आम उपभोक्ताले सहज रूपमा ग्यास नपाएको गुनासो बढेपछि निगमले बिक्रेतासँग छलफल गरेको जनाएको छ । छलफलमा पहिलो प्राथमिकतामा घरायसी प्रयोजन, त्यसपछि औद्योगिक क्षेत्र, होटल तथा रेष्टुरेन्ट उद्योगमा ग्यास आपूर्ति गर्ने सहमति भएको हो ।
निगमका अनुसार अब ग्यास बिक्रेताले ग्राहकलाई ग्यास बिक्री गर्दा ग्राहकको नाम र मोबाइल नम्बर अनिवार्य रूपमा अभिलेख राख्नुपर्ने व्यवस्था गरिएको छ । यससँगै ग्यास वितरणको वास्तविक अवस्था बुझ्न निगमले बिक्रेतासँग विस्तृत विवरण पनि माग गरेको छ ।
निगमले ग्यासको कालोबजारी गर्ने जो–कोहीलाई पनि कारबाही गरिने चेतावनी दिएको छ । साथै आम उपभोक्तालाई आवश्यकभन्दा बढी ग्यास सञ्चिति नगर्न आग्रह गर्दै केही दिनभित्रै बजारमा ग्यासको सहज आपूर्ति हुने जनाएको छ ।






Comments are closed.