पूँजीबजारलाई सरकारले मुटुमा राखेर काम गर्नुपर्छ

मदन पौड्याल, कोषाध्यक्ष, स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल

नेपालको समग्र आर्थिक क्षेत्रलाई चलायमान बनाउन पूँजीबजारको भूमिका मेरुदण्ड सरह हुन्छ । पूँजी निर्माणदेखि स्रोतको उचित परिचालनसम्मका सबै प्रक्रिया पूँजीबजारसँग जोडिएका हुन्छन् । यसैले देशको अर्थव्यवस्थालाई बलियो बनाउन सरकारले पूँजीबजारलाई मुटुमा राखेर काम गर्नुपर्ने आवश्यकता छ । पूँजीबजारको विकासका लागि सरकारले कुनै ठूला र असम्भव काम गर्नुपर्दैन । मुख्य कुरो लगानीकर्ताको मनोबल उच्च राख्नु हो । जबसम्म लगानीकर्ताले सुरक्षित महसुस गर्दैनन्, तबसम्म बजारमा स्थायित्व आउन सक्दैन । यो विषयमा सरकार र सरोकारवाला सबै सचेत हुन आवश्यक छ ।

अर्थ मन्त्रालयले पूँजीबजार सुधारका लागि विभिन्न समयमा कार्यदल गठन गर्ने गरेको छ । ती कार्यदलले दिएका सुझावहरूलाई दराजमा थन्क्याउनुको साटो द्रुत गतिमा कार्यान्वयनमा लैजानु पर्छ । पछिल्लो पटक अर्थमन्त्रालयले जेनजी आन्दोलन पछि पूँजीबजार सुधार सुझावका लागि कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले तत्कालीन, मध्यकालीन र दीर्घकालीन रुपमा गर्नु पर्ने कामहरूसहित सुझाव दिएको छ, ती सुझावलाई कार्यान्वयन गर्न पनि आवश्यक छ ।

मुख्य कुरा लगानीका लागि निजी क्षेत्रलाई अनुकूल वातावरण र प्रोत्साहन दिने नीति सरकारले अवलम्बन गर्नुपर्छ । नीतिगत स्पष्टताले नै लगानी आकर्षित गर्दछ । नीतिगत स्पष्टतामा सरकार गम्भिर बन्न जरुरी छ । अस्थिरताले सधैं हामीलाई कमजोर नै बनाउँछ । पूँजीबजार अत्यन्तै संवेदनशील क्षेत्र हो । यहाँ सानो सूचना वा निर्णयले पनि ठूलो हलचल ल्याउन सक्छ । बजारमा चल्ने अनावश्यक र भ्रामक हल्लाहरूले साधारण लगानीकर्तालाई अन्योलमा पार्ने र ठूलो नोक्सानी पु¥याउने जोखिम रहन्छ । त्यसैले, आधिकारिक सूचना संयन्त्रलाई बलियो बनाउनु र बजारलाई व्यवस्थित गर्नु सरकार र नियामक निकायको प्राथमिकता हुनुपर्छ ।

पूँजीबजारमा छिर्ने हरेक लगानीकर्ताको पहिलो सम्पर्क विन्दु स्टक ब्रोकर नै हुन् । ब्रोकरहरू केवल शेयर खरिद–बिक्री गर्ने माध्यम मात्र नभएर लगानीकर्ताका लागि गार्जियन वा मार्गदर्शक पनि हुन् । ब्रोकरहरूले पनि आफ्नो जिम्मेवारीलाई अभिभावकीय भूमिकासहित निर्वाह गर्नुपर्ने हुन्छ । ब्रोकरहरूले लगानीकर्तालाई सही र तथ्यपरक सूचना प्रदान गर्नुपर्छ । ब्रोकरले सही बाटो देखाउन सकेमा नयाँ लगानीकर्ताको पूँजी डुब्नबाट जोगिन्छ । कारोबारलाई व्यवस्थित र मर्यादित बनाउन ब्रोकरहरूको योगदान अतुलनीय छ । उनीहरूले लगानीकर्तालाई बजारको जोखिम र अवसरका बारेमा सचेत गराउँदै अगाडि बढ्नुपर्छ ।

बजारलाई गतिशील बनाउन लगानीकर्ता स्वयं पनि सचेत हुन जरुरी छ । अरूको लहलहैमा लागेर भन्दा पनि बजारको प्राविधिक र मौलिक विश्लेषण गरेर मात्र लगानी गर्ने बानी बसाल्नुपर्छ । विगतमा चिनजानका भरमा वा सुनिने हल्लाका भरमा लगानी गर्ने चलन भए तापनि अबको समय सूचना र प्रविधिको प्रयोग गर्दै विवेकपूर्ण लगानी गर्ने समय हो । पूँजीबजारको विकास हुनु भनेको देशको अर्थतन्त्र सबल हुनु हो । यसका लागि सरकारले अभिभावकीय भूमिका निर्वाह गर्दै नीतिगत सुधार गर्नुपर्छ भने ब्रोकरहरूले व्यावसायिकता प्रदर्शन गर्नुपर्छ । जब सरकार, ब्रोकर र लगानीकर्ताबीच समन्वय हुन्छ, तब मात्र नेपालको पूँजीबजारले नयाँ उचाइ लिनेछ ।

You might also like

Comments are closed.