३ करोड लगानीमा पोखरामा ‘मदानी भिल्ला’, दसैं अगाडि सञ्चालनमा आउने

पोखरा । पोखराको नदिपुरस्थित नारायणस्थानमा मदानी भिल्ला सञ्चालनमा आउने भएको छ । होटल तथा रेष्टुरेन्टको सुविधासहित मदानी भिल्ला सञ्चालनमा आउने भएको हो ।

१० रोपनी जग्गामा निर्माणाधीन मदानी भिल्ला दसैं अगाडि सञ्चालनमा आइसक्ने सञ्चालक विष्णुमाया गुरुङले जानकारी दिइन् । मदानी भिल्लामा गुरुङसहित अन्य ३ जनाको संयुक्त लगानी छ । भिल्ला सञ्चालनमा आउँदासम्म ३ करोड रुपैयाँ लगानी हुने गुरुङले जानकारी दिइन् ।

भिल्लामा १० वटा रुम, रेष्टुरेन्ट, स्विमिङ पुलको सुविधा हुनेछ । ३ सय जना र १ सय ५० जना क्षमताको २ वटा मिटिङ हल पनि भिल्लामा रहनेछ । इलेक्ट्रिक गाडीको चार्चिङ स्टेसन, कार्यक्रम सञ्चालन गर्न स्टेज, बच्चाहरु खेल्नका लागि गार्डेनको सुविधा पनि उपलब्ध हुनेछ । झर्नाको मज्जा लिदै फिसिङसमेत गर्न सकिने गुरुङले जानकारी दिइन् । ‘स्पाको पनि सुविधा पनि हुन्छ,’ उनले भनिन् ।

MANASLU

भिल्लामा ६० वटा कार पार्किङ गर्न सकिनेछ । कार वासको सुविधासमेत उपलब्ध हुने उनले बताइन् । ‘एक हजार भन्दा धेरै अट्ने गरी पार्टी तथा पिकनिक पनि आयोजना गर्न सकिन्छ,’ उनले भनिन् ।

आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी मदानी भिल्ला सञ्चालनमा ल्याउन लागिएको उनले बताइन् । ‘शान्त वातावरणमा सञ्चालनमा आउने भिल्लामा पूर्ण पारिवारिक वातावरणमा पाहुनालाई सेवा प्रदान हुन्छ,’ उनले भनिन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...