धनुषा । करिब दुई महिनापछि मधेस प्रदेशको प्रदेशसभा बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो १ बजे बोलाइएको छ । गत फागुन ४ गतेपछि प्रदेशसभा बैठक बस्न सकेको थिएन ।
राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचनका कारण पनि प्रदेशसभा बैठक बस्न सकेको थिएन । प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवका अनुसार पुरानो बक्यौता रकमबारे पनि कार्यसूची रहेको छ ।
बक्यौता रकमको छानबिन गरी भुक्तानी प्रक्रिया अगाडि बढाउनका लागि उपसभामुख बबिता राउतको संयोजकत्वमा विशेष समिति गठन गरिएको थियो । उपसभामुख राउतले भने राजीनामा दिइसकेको छन् । त्यसपछि सर्वसहमतिमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) की सांसद रानीकुमारी शर्मालाई जिम्मेवारी दिइएको थियो ।
सो समितिको राजीनामा र नयाँ संयोजकको चयनको विषयमा समेत प्रदेशसभाको बैठकमा निर्णय हुने बताइएको छ । समितिको म्याद सकिएकाले बैठकबाट त्यसको निर्णय गरिनेछ । सचिव यादवले सरकारले खेलकुदसम्बन्धी विधेयक प्रदेशसभामा पठाएको जानकारी दिए ।
विभिन्न छवटा विधेयक तयारी अवस्थामा रहे पनि विभिन्न मन्त्रालयको ढिलाइका कारण प्रदेशसभामा पेश हुन नसकेको बताइएको छ । मुख्यसचिवको अनुपस्थिति र सरुवाले पनि विधेयकलाई मन्त्रिपरिषद्बाट निर्णय गराउन समस्या देखिएको बताइएको छ ।
Comments are closed.