lcci festival

महालक्ष्मी विकास बैंकद्वारा सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व  अन्तर्गत वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार निर्माण तथा सुधार, दिगो विकास लक्ष्य, मानव सेवा र परोपकारका क्षेत्रमा विविध कार्यक्रमहरू सम्पन्न गरेको छ ।

बैंकले आर्थिक वर्ष २०८२र८३ को पहिलो त्रैमास तथा दोस्रो त्रैमासको कार्तिक र मंसिर महिनामा देशका विभिन्न स्थानमा सामाजिक प्रभाव पार्ने कार्यक्रमहरू सञ्चालन गरेको जनाएको छ । सोही क्रममा ललितपुरको ठेचोस्थित जेष्ठ नागरिक चौतारीमार्फत सुदूरपश्चिम प्रदेशको हुम्ला जिल्लाका जेष्ठ नागरिकहरूलाई लक्षित गरी पूर्ण स्वास्थ्य परीक्षणसहितको स्वास्थ्य शिविर तथा नसर्ने रोगको रोकथाम सम्बन्धी कार्यशाला सञ्चालन गर्न बैंकले आर्थिक सहयोग प्रदान गरेको छ ।

त्यसैगरी, भदौ महिनामा भएको आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको प्रहरी वृत्त सातदोबाटोलाई दैनिक प्रशासनिक कार्य सहज बनाउन बैंकले ५ थान कम्प्युटर सेट र ५ थान टेबल सहयोग स्वरूप प्रदान गरेको छ । साथै हुम्ला जिल्लाको सदरमुकाम सिमकोटदेखि ४४ कोष दक्षिण–पूर्वमा रहेको अदानचुली गाउँपालिका वडा नं. १ का ६५ घरधुरी दलित समुदायका विपन्न परिवार, हलिया, लगी र खलोका रूपमा जीविकोपार्जन गरिरहेका व्यक्तिहरू, अनाथ बालबालिका तथा एकल महिला र पुरुषहरूलाई खाद्यान्न वितरण गर्ने उद्देश्यले एकीकृत सामुदायिक विकास तथा अनुसन्धान केन्द्र, सिमकोटलाई आर्थिक सहयोग गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले बागलुङ जिल्लाका भुकृटी माध्यमिक विद्यालय र श्री सल्यान सुखौरा माध्यमिक विद्यालय, झापा जिल्लाका श्री पृथ्वी माध्यमिक विद्यालय, श्री अरनिको माध्यमिक विद्यालय तथा श्री गणेशसूर्य आधारभूत विद्यालयमा अध्ययनरत छात्राहरूलाई सुरक्षित र सहज शौचालय सुविधा उपलब्ध गराउने उद्देश्यले आधुनिक शौचालय निर्माणका लागि विभिन्न रोटरी क्लबहरूमार्फत आर्थिक सहयोग गरेको छ ।

यसका साथै ललितपुरको सैंबुस्थित बालकुमारी आधारभूत विद्यालयमा अध्ययनरत १८० जना विद्यार्थीलाई जाडोबाट बचाउन १८० थान न्यानो कपडा वितरण गरिएको छ । गोरखा जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई मुनलाईट सोसाइटी नेपाल, गोरखाको सहकार्यमा शैक्षिक सामग्री वितरण गरिएको बैंकले जनाएको छ ।

बैंकले यस्ता निरन्तर सामाजिक उत्तरदायित्व कार्यक्रमहरूबाट समग्र आर्थिक तथा सामाजिक विकासमा सकारात्मक टेवा पुग्ने विश्वास लिएको छ ।

You might also like

Comments are closed.