काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र भारतको अग्रणी वित्तीय संस्था एचडीएफसी बैंकबीच सीमा–पार बैंकिङ्ग सेवा विस्तार गर्न तथा भारतबाट नेपालमा भुक्तानी प्रणाली सशक्त बनाउन समझदारी सम्पन्न भएको छ ।
उक्त समझदारी अनुसार महालक्ष्मी विकास बैंकले भारतबाट नेपालमा सिधै रकम भुक्तानी गर्न सकिने प्रणाली सञ्चालनमा ल्याएको छ । यस प्रणाली सञ्चालन गर्ने महालक्ष्मी विकास बैंक नेपालको पहिलो विकास बैंक बनेको छ । दुवै बैंकले सम्पूर्ण प्रक्रियागत कार्य सम्पन्न गर्दै परिक्षण कारोबार समेत सफलतापूर्वक सम्पन्न गरिसकेका छन् ।
समझदारी अन्तर्गत, महालक्ष्मी विकास बैंकले एचडीएफसी बैंकको अत्याधुनिक क्यास म्यानेजमेन्ट सेवा (CMS) को प्रयोग गर्न पाउनेछ । यसमा CMS चेक कलेक्सन र इलेक्ट्रोनिक क्यास म्यानेजमेन्ट जस्ता सेवाहरू समावेश छन्, जसअन्तर्गत भारतबाट नेशनल इलेक्ट्रोनिक फण्ड ट्रान्सफर (NEFT), रियल टाइम ग्रस सेटलमेन्ट (RTGS), फण्ड ट्रान्सफर (IMPS) जस्ता माध्यमहरू प्रयोग गरी नेपालमा सिधा भुक्तानी गर्न सकिनेछ ।
यी सेवाहरूको प्रयोग गरी भारतमा रहेका व्यक्ति तथा संस्थाहरूले एचडीएफसी बैंकमार्फत महालक्ष्मी विकास बैंकको खातामा रकम सिधै जम्मा गर्न सक्नेछन् । त्यस्तै, भारतका अन्य बैंकहरूसँगको चेकमार्फत पनि नेपालमा पैसा पठाउन सकिने व्यवस्था गरिएको छ ।
एचडीएफसी बैंकसँगको यो सहकार्यसँगै नेपाल–भारत बैंकिङ्ग सम्बन्ध अझ मजबुत बन्ने विश्वास बैंकले लिएको छ। यसले सीमा–पार व्यापार, रेमिट्यान्स कारोबार तथा डिजिटल बैंकिङ्ग सेवाहरूलाई थप प्रभावकारी, सहज र प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको छ ।
यसअघि पनि महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरूका लागि विविध डिजिटल सेवा विस्तार गर्दै आएको छ । हालै मात्र बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एप “महालक्ष्मी स्मार्ट साथी” मा भर्चुअल क्रेडिट कार्ड सुविधा थप गरेको छ, जसले डिजिटल नवप्रवर्तनप्रतिको बैंकको प्रतिबद्धता झल्काउँछ ।
“सबल बैंक, सफल सहकार्य” नारासहित देशभर १०३ शाखा र करिब ८ लाख ग्राहक सेवा गर्दै आएको महालक्ष्मी विकास बैंकले यो समझदारीलाई ऐतिहासिक कदमका रूपमा लिएको जनाएको छ ।
Comments are closed.