अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा हस्तकला मेला

काठमाडौं । ‘हस्तकलाको प्रवद्र्धन, महिला सशक्तीकरणको संवद्र्धन’ भन्ने नाराका साथ ललितपुरमा महिला हस्तकला मेला आयोजना गरिएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर ललितपुर महानगरपालिकाको प्राङ्गणमा मेला शुरु भएको हो । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले मेलाको उद्घाटन गरे । हस्तकला व्यवसायमा संलग्न लघु, घरेलु तथा साना उद्यमी व्यवसायीलाई उत्पादक, खरिदकर्ता, विक्रेता र निर्यातकर्तासँग एकै थलोमा भेला गराउने लक्ष्य मेलाले राखेको छ ।

स्थानीयस्तरमा हस्तकलाको बिक्री प्रवद्र्धनका साथै अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात तथा प्रवद्र्धन गर्ने ध्येयका साथ आफूहरूले प्रयास गरेको मेला संयोजक तथा नेपाल हस्तकला महासङ्घका सदस्य सविता सिंहले जानकारी दिए । उनले महिला उद्यमीबाट उत्पादित नेपाली उत्पादनरनेपालको पहिचानअनुरुप स्थानीय हस्तकला वस्तुको बजारीकरण र प्रवद्र्धनले महिलाको आर्थिक पाटोलाई समेत टेवा पुग्ने बताए ।

ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले हस्तकलाका सामग्री उत्पादनलाई पुस्तान्तरण गर्न जरुरी रहेको बताउँदै अन्यथा यो पेशा सदाका लागि समाप्त हुने अवस्था आउनेतर्फ चिन्ता व्यक्त गरे । उनले उत्पादनसँगै बजारीकरणको चुनौती रहेकाले त्यसमा रहेका समस्या समाधानका लागि सबैको साथ र सहयोग जरुरी रहेको बताए ।

त्यस्तै नेपाल व्यापार प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले अन्य सामग्रीभन्दा हस्तकलाका उत्पादन निरन्तर निर्यात हुने भएकाले यसको कूल ग्राहस्थ उत्पादनमा पाँच प्रतिशत रहेको दाबी गरे । यस्ता सामग्रीको उत्पादनसँगै निकासी तथा प्रवद्र्धन गर्न अन्तर्राष्ट्रिय कूटनीतिक नियोगमा समेत प्रदर्शनमा राख्न छलफल तथा कूटनीतिक पहल भइरहेको जानकारी दिए । मेला यही फागुन २४ गतेसम्म चल्नेछ ।

मेलामा एकै छानामुनि प्राकृतिक रेसा केतुके, अलैँची, केरा, अल्लो र बाँसबाट निर्मित सामान, काष्ठकला, चाँदीका गरगहना तथा चाँदीका वस्तु, धातुका गरगहना, फेल्ट, क्रिष्टलका सामान रहेका छन् । यस्तै कूल ५० स्टल रहेको मेलामा काठमाडौं उपत्यकाका लघु, घरेलु उत्पादक एवं कम आय भएका महिलाले तयार पारेका सामग्री राखिएको छ ।

You might also like

Comments are closed.