पोखरा । स्वास्थ्यमा अचानक समस्या देखिएपछि काठमाडौंस्थित न्युरो अस्पतालमा उपचाररत पोखरा महानगरपालिका प्रमुख मानबहाुदर जिसीको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।
महानगर प्रवक्ता धनबहादुर नेपालीले एक विज्ञप्ति निकालेर उनको स्वास्थ्य लाभको कामना गरेका हुन् । ‘काठमाडौंको न्युरो अस्पतालमा उपचाररत महानगर प्रमुख जिसीको पोखरा महानगरपालिका परिवार शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ’, नेपालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘उहाँको उपचारमा सम्लग्न चिकित्सक, प्रत्यक्ष तथा परोक्ष स्वास्थ्य अवस्था बारे सद्भाव र शुभेच्छा प्रकट गर्नुहुने सबैमा हार्दिक आभार व्यक्त गर्दछौं ।’
प्रमुख जिसीको अहिले काठमाडौंस्थित न्युरो अस्पताल बाँसबारीमा उपचार भइरहेको नेपालीले उल्लेख गरेका छन् । शुक्रबार बिहान करिब ४ बजे उनलाई असहज महसुस भएपछि तत्कालै महेन्द्रपुलस्थित मेडिप्लस अस्पतालमा उपचारका लागि लगिएको र त्यहाँ प्रारम्भिक उपचार गरी मणिपाल शिक्षण अस्पतालमा पु¥याइएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
मणिपाल शिक्षण अस्पपालमा उनको उपचारमा संलग्न चिकित्सकका अनुसार उच्च रक्तचापले मस्तिष्कघात (Cerebral Infarction) भई त्यसको असरले प्रमुखको शरीरको देब्रेतर्फ समस्या भएको विज्ञप्तिमा उल्लेख छ । महानगर प्रमुखलाई थप उपचारका लागि आज नै हेलिकोप्टरमार्फत् काठमाडौं लगिएको नेपालीले बताए ।
Comments are closed.