गुनासो छ, तर मेरो छाप रुखमै जान्छः क्याम्टेन मनप्रसाद गुरुङ

क्याम्टेन मनप्रसाद गुरुङ (जन्म वि.सं. १९९० वैशाख)

लाहुरेजीवनबाट निवृत्त भएपछि राजनीति र समाजसेवामा मैले जीवन व्यतित गर्ने क्रममा निकै रमाइला अनुभव संगालेको छु । जीवन यस्तै उकाली आरोलीको एउटा निरन्तरको यात्रा हो भन्ने यो जीवन भोगाइको क्रममा मैले महसुस गरेको छु । स्याङ्जा जिल्ला साविक आरुखर्क गाविस वडा नं. ८ हाल फेदीखोला गाउँपालिका वडा नं. ४ आरुखर्क टोड्केमा बस्ने म (५५ गोर्खा राइफल) को भूपू सैनिक हुँ ।

लाहुरे जीवनबाट पेन्सन आएपछि गाउँमा खानेपानी, शिक्षा, स्वास्थ्यका समस्या र दुःख उस्तै थियो । हाम्रो नेपाली गाउँघरको समग्र अवस्था जहातही यस्तै पनि हो भन्ने हाम्लाई थाहा नै छ । हाम्रो गाउँमा खानेपानीको दुःख थियो । मैले छोरा विष्णुप्रसाद गुरुङलाई लिएर काठमाडौंको भारतीय राजदूताबासमा मेरो पल्टनको ब्रिगेडियर आरखरेलाई भेटी आफ्नो खानेपानीको दुःख बिसाएँ । आफ्नो परिचय दिएँ । खानेपानीको लागि पाइप तथा सहयोग माग गरेँ । २० हजार मिटर पाइप आवश्यक थियो ।

माथिल्लो जोगिथोक र तल्लो जोगिथोकमा पानी ल्याउने योजना थियो । कल्या टोलका लागि पनि पानी ल्याउने योजना बनाएँ जसको लागि १० हजार मिटर पाइप माग गरेँ । साथै जिआइ पाइप, प्लास्टिक पाइप, सिमेन्टहरु ब्रिगेडर साहेपले माग अनुसार उपलब्ध गराउनुभयो । म आफैँले लिएर आएँ । मैले गाउँमा ल्याएर वडा अध्यक्ष ढुण्डीराज पौडेल हुनुहुन्थ्यो । २०४१÷४२ साल तिरको कुरा हो । त्यतिबेला न फोन थियो, न मोबाइल थियो । उहाँलाई मान्छे पठाएर बोलाएँ । सम्पूर्ण मान्छेलाई भेला गराई गाउँलेको रोहबरमा पत्र बनाई कसैलाई पनि पत्रबेगर सामान नदिनु भन्ने सहमति गरी प्रत्येक घरमा एक एक धारा जडान गर्ने योजना अगाडि बढाएँ ।

म छुट्टी आउँदा पढाउने शिक्षक नभएर आफैलाई पढाउन अनुरोध गरियो । त्यो बेला म्याट्रिक (एसएलसी) पास गर्नेहरु गाउँमा थिएनन् । म कांग्रेसको क्रियाशील सदस्य (२०३७ सालतिर) भएपछि जिल्ला कार्यसमितिको सदस्य पनि भएर काम गरँे । हामीलाई आदेश भएपछि आन्दोलनमा जान पर्दा काठमाडौंमा पनि पुगी जिल्ला जिल्लामा पनि रिले अनसन बसी पुलिसको लाठीसमेत खायौं ।

गाविसमा आरुखर्कमा पञ्चायत कालमा चुनावमा कांग्रेसले मलाई प्रधानपञ्चमा उठ्न भन्यो । कांग्रेस अगाडि थियो । एमाले पछाडि । राति क्षेत्री बाहुनको पर्खाल फालिदिएको रहेछ । कांग्रेसले फालेको हो भन्ने प्रचार गरियो । मलाई र पार्टीलाई जिल्लामा बोलाएर गयौं । सिडियोले पर्खाल किन फालियो भनेर सोधे । एमाले हारेपछि यस्तो आरोप लगाइयो भनेर भनेँ ।

अर्को कुरा के भने स्वर्गीय बिनी महादेव साइलाबाले भने अनुसार १ देखि ९ वडा जम्मा गरेर यहाँ हाइ स्कुल नभएर दुःख भएकाले त्यसको माग गरियो । कसरी स्कुल स्थापना गर्ने भनेर छलफल गरियो । सोही अनुसार स्कुल स्थापना गर्न सफल भयौं । चन्दा सहयोग पनि माग गरियो सबैले आआफ्नो क्षमता अनुसार सहयोग गरे । हामी स्याङ्जा सदरमुकाम गई स्कुल खोल्नको लागि माग ग¥यौं । स्कुल बन्यो । स्कुलका लागि खानेपानीको व्यवस्था गर्न फेरि म काठमाडौं गएर ब्रिगेडिर सापसँग अनुरोध गरेँ । ३ हजार मिटर पाइप ल्याएर खानेपानीको व्यवस्था भयो । गाविसमा स्वास्थ्य चौकी पनि मेरै नेतृत्वमा ल्याएको हो । बालबिक्रम साहलाई मैले नै भनेर स्वास्थ्य चौकीका लागि पाँच रोपनी जग्गा उहाँले दिनुभयो ।

२०४६ मा गाविसको अध्यक्ष, उपाध्यक्ष कांग्रेसकै नेतृत्वमा बन्यो । २०५१ सालमा मेरै नेतृत्वमा टोर्के गाउँमा बिजुली पनि ल्याउन सफल भयौं । थाप्ले आमा समूहको एउटा घर मेरै नेतृत्वमा बन्यो । जसलाई केयर नेपाल, भूपू सैनिकलगायतबाट सहयोग प्राप्त भयो । ७९ हजारको लागतमा भवन बनायौं । मैले नै आमा समूहलाई लिएर पाम्दुर खाल्टाबाट कुने खोलासम्मको बाटो निर्माण गरेँ । मैले मेरो गाउँको बाटो बनाउन कांग्रेसको जिल्ला समितिलाई पत्र लेखेँ । केन्द्रमा लेख्नुपर्छ भनेपछि केन्द्रीय सदस्य धनराज गुरुङ्लाई मेरो सिफारिस लिनुपर्यो भन्दा मेरो केही अधिकार छैन भनेपछि म प्रधानमन्त्रीकोमा गएँ । भर्खर बाहिर जानुभएको समय परेछ । मेरो सिफारिस कसैले पनि सुनेन । तत्कालीन प्रधानमन्त्री स्व. सुशील कोइरालाले भन्नुभयो कि मेरो कार्यालयमा दर्ता गराइदिनुस् । म दर्ता गरेर आएँ तर उत्तर कहिल्यै आएन ।

मेरो नेतृत्वमा मोटर बाटोका लागि २०६० सालमा पर्सेभाटीबाट पञ्चासे मोटरबाटो खोल्ने काम भयो । हाम्रो बाटोलाई पनि रातो किताबमा पारिएन । आरुखर्क गाविस जाने बाटोलाई मात्रै पारियो । जनश्रमदान र विदेशमा हुनेहरुको सहयोगबाट बाटो बनाउने काम सम्पन्न भयो ।

अन्त्यमा हाम्रो प्रधानमन्त्रीलाई भन्नु छ कि समानुपातिकमा पटकपटक सिफारिस गर्ने छैन भनिएको छ । किन पटकपटक एउटै व्यक्तिलाई समानुपातिक वा अन्य पदमा दोहोर्याएर अवसर दिईन्छ । म र म जस्ता देशभरका पार्टी, समाज र देशका लागि केही न केही योगदान गरेको व्यक्तिलाई समानुपातिक सांसद मात्र होइन कि अन्य पदमा अवसर किन दिइन्न ?

मेरो जिज्ञासा सभापति एवं पार्टी सभापतिसँग छ । म जनआन्दोलन २ को घाइते पनि हुँ । मैले पार्टीबाट काम पाउनुपर्छ । मैले सभापतिलाई सयौं पटक फोन गर्दा पनि किन उठ्दैन मेरो गुनासो छ । तर मेरो छाप रुखमै जान्छ । २०६२÷६३ को घाइतेले पाउनुपर्ने भत्ता २०७२ पछि किन मैले पाएन ?

You might also like

Comments are closed.