मनकामना केबुलकारलाई ५० करोड लगानीमा अत्याधुनिक प्रविधिमा स्तरउन्नति गरिदै

काठमाडौं । नेपालमा केबुलकार सेवा सञ्चालन गरेको २६ वर्ष पुग्न लागेको छ । नेपालकै पहिलो केबुलकार सेवा प्रदायक मनकामना दर्शन प्रालि हो । प्रालिले अब थप लगानीसहित अत्याधुनिक प्रविधिमा केबुलकारलाई स्तरउन्नति गर्ने भएको छ । मनकामना दर्शन प्रालिले ५० करोड रुपैयाँ लगानीसहित केबुलकारलाई स्तरउन्नति गर्न लागेको हो । असार ३१ गतेबाट स्तरउन्नतिको काम सुरु हुनेछ भने ५० दिनमा काम सम्पन्न गरी सेवा सुचारु गर्ने तयारी कम्पनीको छ ।
अष्ट्रियाको विश्वकै १ नं. कम्पनी डोपलमायरबाट आयातित मेशिनरीहरू बिना कुनै प्राविधिक समस्या अटुट रूपमा २६ औं वर्षसम्म सञ्चालन भएको र अब सेवालाई थप प्रतिस्पर्धी र आधुनिक बनाउन स्तरउन्नति गर्न लागिएको प्रालिका निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी दिए ।
‘२६ वर्ष अगाडि जडित यो प्रविधिमा क्रमिक रूपले समय अनुरूप धेरै विकास भइसकेको र हाल निर्माता कम्पनीले समेत यसका पार्टपूर्जा आदि दिन निकट भविष्यमा समस्या रहने र निर्माता कम्पनीकै सुझावमा समय सापेक्ष अनुसार केवुलकारको स्तरोन्नति गर्न लागिएको  हो,’ विज्ञप्तिमा भनिएको छ ।
मुख्य लठ्ठाको तार फेर्ने, कम्युनिकेसन तार फेर्ने, थायरिस्टर प्यानल तथा अपरेसन प्यानल फेरिने, सम्पूर्ण वाइरिङहरु फेरिने, डिसी मेइन मोटर फेरेर एसी मेइन ड्राइभ राखिने, ३ वटा टावर ओभरहालिङ गरिने लगायत अन्य अत्यावश्यक कार्यहरू गरिने कम्पनीले जनाएको छ । जनशक्तिलाई थप तालिम प्रदान गरिने पनि जनाइएको छ ।
डिजिटल प्रविधि अनुसार यसको संचालन छुट्टै सफ्टवयरबाट कम्प्युटर प्रणालीबाट संचालनमा आउने जनाइएको छ । कतिपय प्राविधिक समस्या डोपलमायरबाट अष्ट्रियाबाट नै अनलाइन समाधान गर्न सकिने जनाइएको छ । केवुलकार तल्लो स्टेशनमा रहेको रेष्टुरेन्ट उक्त बन्द अवधिभर यथावत संचालन भई सेवा प्रदान गरिनेछ ।
मनकामना केबुलकारको प्रविधि एनालोगमा आधारित प्रविधि हो । यसमा जडित मेन मोटर डिसी करेन्टबाट चल्दछ । हाल स्तरोन्नति हुने प्रविधि डिजिटल र नवीनतम् प्रविधि रहेको जनाइएको छ।  यसलाई ‘डोप्पेलमेयर’को ‘डिकनेक्ट सिस्टम’ भनिन्छ । ‘यसमा सम्पूर्ण डिजिटल प्रविधिबाट चल्नुका साथै यसको मेन मोटर अब एसी करेन्टबाट चल्नेछ । पुरानो मोटर, कन्ट्रोल स्टिम प्यानलहरू सबै यसै प्रणालीमा आधारित हुने भएकाले सबै नै मुख्य मेशिनरीहरू सोही अनुसार फेरिने हुन्छ । त्यस्तै हाल दुई स्टेशन बीच जडित कम्युनिकेसन केबल समेत डिजिटल प्रविधि अनुरूप हुने भएकोले सो पनि फेरिने हुन्छ जस्को लम्बाई करीव ३२०० मिटरको हुनेछ,’ विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै मेन केवल तार लठ्ठा पनि क्रमशः पुरानो भएकाले सो समेत यसै पटक रोकिएको अवधिमा फेरिन लागेको कम्पनीले जनाएको छ । त्यसको लम्बाई करिब ६५०० मिटरको हुनेछ ।
केवुलकारको सबैभन्दा सुरक्षा दृष्टिकोणले मुख्य मानिने ग्रिप हुन् । जस्को माध्यमबाट गोन्डोला तारमा झुन्डिन्छन् । २ वर्ष अगाडि नै ग्रिप लगायत धेरै सामानहरु कम्पनीले फेरिसकेको छ । यात्रुहरुको सेवामा आफूहरु सधैं प्रतिबद्ध रहेको र स्तरउन्नति पछि पुनः सेवामा समर्पित हुने कम्पनीले जनाएको छ।
lcci
You might also like

Comments are closed.