मनकामना केबुलकार ‘डिजिटल सिस्टम’मा स्तरउन्नति हुँदै

मुग्लिन । मनकामना दर्शन प्रा.लि. द्वारा सञ्चालित केबुलकार सेवाको स्तरउन्नति हुने भएको छ । प्रथम, दोस्रो र तेस्रो चरणमा गरी केबुलकारको स्तरउन्नति हुने प्रा.लि.का कार्यकारी सञ्चालक राजुबाबु श्रेष्ठले जानकारी दिए ।

प्रथम चरणमा तत्काल अति आवश्यक र मर्मत गर्न नसकिने पार्टपूर्जाहरु फेरिने, दोस्रो चरणमा नयाँ प्रविधिमैत्री बनाउन पूर्वाधार तयार तथा केही अन्य थप पार्टपूर्जाहरु फेरिने र अन्तिम तथा तेस्रो चरणमा एनालग सिस्टमबाट डिजिटल सिस्टममा स्तरउन्नति गरिने श्रेष्ठले बताए ।

केवुल लठ्ठा फेरबदल गर्ने, कम्युनिकेट केबललाई सेट्रा केबलमा रुपान्तरण गर्ने, डिसी ड्राइभलाई एसि ड्राइभमा रुपान्तरण सेवालाई थप प्रविधिमैत्री र आधुनिक बनाउने प्रालिले जनाएको छ । आगामी २ वर्षभित्र तीनै चरणको काम सम्पन्न गरिने श्रेष्ठले बताए ।

प्रालिले २०५५ मंसिर ८ गतेदेखि सेवा सञ्चालन गरेको थियो । सेवा सञ्चालनको २३ वर्ष पुरा भइसकेको छ । कम्पनी स्थापनाको २५ वर्ष पुगेको अवसरमा नयाँ प्रविधिबाट सेवा सञ्चालन हुने श्रेष्ठले बताए ।

‘सबैको सहयोग, सद्भाव र माया पाएकाले सफलताका साथ केवलकार सेवा संचालन गर्न सक्षम भएका छौं,’ श्रेष्ठले भने, ‘हाल लामो समयसम्मको संचालनमा मर्मत, सम्भार खर्च बढ्न गएको, नयाँ प्रविधि विकास भई सो प्रविधियुक्त बनाउन विभिन्न चरणमा स्तरोन्नति गर्दै जाने जानकारी गराउछौं ।’ मर्मत सम्भारको समय बाहेक अन्य समयमा केबलकार सेवा यथाबत सञ्चालन हुने प्रा.लि.ले जनाएको छ ।

You might also like

Comments are closed.