मनाङ, २३ फागुन (रासस) । यहाँ आउने पर्यटक तथा स्थानीयवासीको सहजताका लागि अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) ले निःशुल्क सेवा प्रवाह गर्दै आएको छ । अन्नपूर्ण पदमार्गमार्फत यात्रा आउने पर्यटक तथा स्थानीयवासीलाई निःशुल्क स्वास्थ्य सेवा प्रवाह गर्दै आएको अन्नपूर्ण क्षेत्र संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । लेक लाग्ने, अन्य विभिन्न रोगसम्बन्धी आयोजनाले निःशुल्क सेवा प्रवाह गर्दै आएको हो ।
विशेषगरी मनाङ भ्रमणमा आउने पर्यटकमा लेक लाग्ने समस्या बढी हुने भएकाले स्थापना कालदेखि नै एक्यापले निःशुल्क स्वास्थ्य सेवा प्रवाह गर्दै आएको एक्यापका स्वास्थ्य शाखा प्रमुख लक्ष्मी अर्यालले जानकारी दिइन । उनका अनुसार चालु आर्थिक वर्ष आन्तरिक तथा बाह्य गरी कूल नौ सय ९५ ले स्वास्थ्य सेवा लिएका छन् ।
चालु आवको साउनदेखि पुससम्मको अवधिमा एक्यापबाट स्वदेशी पुरुष चार सय ९१ र महिला चार सय ३८ कूल नौ सय २९ र विदेशी पुरुष ४२ र महिला २४ गरी कूल ६६ पर्यटकले निःशुल्क सेवा लिएको उनले बताइन । विशेषगरी थोराङ्ला भञ्ज्याङ, तिलिचो ताल, आइसलेक जाने मनाङ आउने पर्यटकले स्वास्थ्य सेवा लिने गरेको उनले बताइन ।
“मनाङको पर्यटकीय क्षेत्र अन्नपूर्ण पदमार्गको यात्राका लागि सिधैँ माथिल्लो मनाङ सवारीसाधनमार्फत पुग्दा पर्यटकलाई समस्या हुने गरेको पाइएको छ, लेक लाग्ने, झाडापखाला, वान्ता हुने समस्याबाट बिरामी भएर निःशुल्क सेवा लिन आउने गर्दछन्”, उनले भनिन, “विदेशी पर्यटकले केही मात्रामा सावधानी अपनाउने गरेको पाइएको छ ।”
बिरामी परेर एक्यापमा आइपुगेका पर्यटक तथा स्थानीयलाई सेवा प्रवाह गरिएको उनले बताइन । पपर्यटकमा बढी मात्रामा लेक लाग्ने समस्या भएको हुन्छ भने स्थानीयमा अन्य समस्या लिएर स्वास्थ्य सेवा लिने गरेका उनको भनाइ छ ।
Comments are closed.