मनास्लु वर्ल्ड स्कुल/कलेज स्थापनाको २५ वर्ष प्रवेश

काठमाडौं । शिक्षा क्षेत्रमा अग्रणी पहिचान बनाउन सफल मनास्लु वर्ल्ड स्कुल/कलेजले स्थापनाको २५ वर्ष प्रवेश गरेको छ । काठमाडौं–७ चावहिल चुच्चेपार्टीमा रहेको कलेजले फागुन १५ गते सोमबार २४औं वार्षिकोत्सव विशेष कार्यक्रमसहित मनाउँदैछ । कलेजमा लामो समयदेखि शैक्षिक तथा व्यावसायिक क्षेत्रमा आबद्ध अनुभवी व्यक्तिहरुको लगानी छ ।

बिगतमा प्राक्सिस इन्टरनेशनल एकेडेमी नामबाट स्कुल सञ्चालनमा रहेकोमा हाल मनास्लु नामबाटै सञ्चालनमा छ । कलेज २०२०बाट सञ्चालनमा आएको हो । वार्षिकोत्सवको अवसरमा कलेजले सम्पूर्णप्रति आभार व्यक्त गरेको छ । कलेजका अध्यक्ष गेन्द्र लामा र प्रिन्सिपल राजन श्रेष्ठले विज्ञप्ति जारी गर्दै हालसम्म स्कुल र कलेज सञ्चालनमा साथ र सहयोग गर्ने सम्पूर्णप्रति हार्दिक आभार तथा कृतज्ञतासहित धन्यवाद ज्ञापन गरेका हुन् ।

‘शैक्षिक क्षेत्रमा अग्रणी पहिचान बनाउन सफल मनास्लु वर्ल्ड स्कुल/कलेज स्थापनाको २५औं वर्षमा प्रवेश गरेको जानकारी गराउन पाउँदा हामी गौरवान्वित छौं । कक्षा नर्सरीदेखि स्नातक तहसम्मको पठनपाठन गराउँदै आइरहेको यस स्कुल/कलेजले आजबाट रजत वर्षको यात्रा सुरु गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आजसम्मको यात्रामा हामीलाई निरन्तर साथ दिनुहुने सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, सम्पूर्ण शुभेच्छुक एवं शुभचिन्तकहरुमा मनास्लु वल्र्ड स्कुल तथा कलेज परिवारको तर्फबाट हृदयदेखि हार्दिक आभार तथा कृतज्ञतासहित धन्यवाद ज्ञापन गर्दछौं ।’

यसैबीच, रजत जयन्तीको अवसरमा कलेजलाई आइएसओ सर्टिफाइड प्रमाणपत्र हस्तान्त्रण गर्ने कार्यक्रम छ । कलेजका अध्यक्ष गेन्द्र लामाले मनास्लुलाई क्वालिटी म्यानेजमेन्ट स्टिम यूकेबाट आइएसओ सर्टिफाइड २००९ः२०१५ प्रमाणित भएको बताए । सोही सन्दर्भमा विभिन्न व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम रहेको अध्यक्ष लामाले जानकारी दिए ।

कार्यक्रममा २०७९ मा कक्षा १२ मा उत्कृष्ट अंक हासिल गर्ने ७ जना विद्यार्थीलाई मनास्लु एकेडेमिक आउटस्ट्याण्डिङ अवार्ड र कक्षा १२ मा अध्ययनरत १० जना विद्यार्थीलाई मनास्लु एक्सेलेन्स अवार्ड २०७९ ले सम्मानित गरिँदै छ ।

सो अवसरमा गायिका अस्मिता अधिकारी, गायक हिमाल सागर र वाइल्ड रिपर्ज डान्स क्रु ले प्रस्तुति दिने कार्यक्रम रहेको प्रिन्सिपल राजन श्रेष्ठले जानकारी दिए । स्कुल र कलेजमा गरी हाल २५ सय विद्यार्थी अध्ययनरत रहेको प्रिन्सिपल श्रेष्ठले जानकारी दिए ।

You might also like

Comments are closed.