पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनमा मनोजकुमार श्रेष्ठले वाणिज्य उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । भदौ २० र २१ गते संघको महाधिवेशन हुँदैछ । श्रेष्ठले आफ्नो २७ वर्षे व्यावसायिक यात्राका क्रममा संघमा समेत सक्रिय छन् । २ कार्यकाल कार्यसमिति सदस्य भएका उनी बर्तमान कार्यसमितिमा कोषाध्यक्षको जिम्मेवारीमा छन् ।
आफ्नो प्रतिबद्धता सार्वजनिक गर्दै श्रेष्ठले व्यवसायीका आन्तरिक विवाद र समस्या समाधानका लागि संघभित्रै ‘व्यवसायिक मेलमिलाप केन्द्र’ गठन गर्ने योजना अघि सारेका छन् । त्यसैगरी, युवा उद्यमशीलतालाई प्रवर्द्धन गर्दै बेरोजगार युवा र व्यवसायीलाई एकै ठाउँमा जोड्न डिजिटल प्लेटफर्म निर्माण गर्ने, संघको निर्णय प्रक्रियामा पारदर्शिता कायम गर्ने र संस्थागत सुशासनलाई सुदृढ बनाउने उम्मेदवार श्रेष्ठको मुख्य प्राथमिकता छ ।

पोखरा अधिकृत बिक्रेता संघका निवर्तमान अध्यक्ष समेत रहेका श्रेष्ठले ‘सबल व्यवसाय, समृद्ध पोखरा’को संकल्प व्यक्त गरेका छन् । ‘मेरो लामो व्यावसायिक अनुभव र संस्थागत सिकाइ नै चुनावी मुख्य आधार हो । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर व्यवसायीको हकहित, एकता र संघको प्रभावकारिता अभिवृद्धिका लागि म निरन्तर क्रियाशील रहनेछु,’ उनले भनेका छन् ।




Comments are closed.