मातृभूमि सहकारीद्वारा विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण

पोखरा । मातृभूमि बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा ८, कास्कीको १३ औँ स्थापना दिवसको अवसरमा विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको छ ।

तनहुँको भिमाद नगरपालिका वडा नं. २, बिरुवा स्थित श्री सिद्ध प्राथमिक विद्यालयमा शनिबार सम्पन्न उक्त कार्यक्रममा ३० जना अध्ययनरत विद्यार्थीलाई पोशाक, शैक्षिक सामग्री र खेलकुद सामग्री वितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष दिनेशकुमार थापाले विद्यालयको भौतिक तथा शैक्षिक अवस्था कमजोर रहेको अवस्थामा अध्ययनरत विद्यार्थीको हौसला बढाउने काम सहकारीले गरेको अनुकरणिय कार्यले विद्यालयको गुणस्तर बढ्ने विश्वास व्यक्त गरे ।

अतिथि थापाले गाउँमा विकासको स्तरोन्नती हुँदै गइरहेको अवस्थामा पनि स्थानीय शहरीमुखी हुनु तथा सम्बन्धित निकायबाट भइरहेका परिवर्तनमुखी र उत्पादनमुखी कार्यक्रमलाई पनि स्थानीयले चासो नदिएर उपलब्धी नदेखिनु दुःखद् रहेको बताए ।

उनले गुणस्तरीय शिक्षाले नै यस क्षेत्रको विकास र विद्यार्थीको समुज्ज्वल भविश्य हुने बताउँदै बिस्तारै समाजलाई सम्बृद्धि तर्फ लैजान बसाइसरेर जानेले पनि जन्मभूमिप्रति सहयोग र सुझावको रहिदिन आग्रह गरे ।

गाउँका कला संस्कृति र पर्यटकिय स्थलहरुको प्रचारप्रसार र प्रबद्र्धन गर्न समाज तथा सहकारीबाट सहयोग र सुझावको अपेक्षा राख्दै उनले गाउँको रुपान्तरणका लागि जनप्रितिनिधिलाई निरन्तर हौसला प्रदान गरिरहन अनुरोध गरे ।

संस्थाका सल्लाहकार इश्वरप्रसाद सुवेदीले तनहुँ सम्पर्क समाज पोखराका सदस्यद्वारा स्थापित सहकारी तनहुँकै भुगोल अथवा माृतभूमिमै आएर सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोगको भूमिकाबाट साक्षात्कार गर्न पाउनु नै गर्वको कुरा भएको बताए । हामी शहरमुखी भएपनि गाउँठाउँका संस्कार, सस्कृति, भौगोलिक पहिचान र हावापानीलाई कहिल्यै बिर्सन नसकिने बताए ।

किहुँ अरुणोदय मिलन समाज पोखराका अध्यक्ष कृष्णप्रसाद सिग्देलले शहरमा एकिकृत भई आफ्नो जन्मभूमिको उत्थान र संस्कृतिलाई बचाउन समाज अहम् भूमिका रहेर अगाडि बढ्ने बताए । संस्थाका अध्यक्ष हरिप्रसाद खनालले संस्थाले आफ्नो स्थापना दिवसको अवसर होस् वा अन्य कुनै समयमा गरिने सामाजिक उत्तरदायित्वका कार्य निरन्तर रहने र यसबाट परिणाममुखी उपलब्धि प्राप्त हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर थापा र प्रधानाध्यापक देवका सुवेदीलगायत बोलेका थिए । कार्यक्रममा उपाध्यक्ष शिवराज पौडेलले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन सचिव बलराम गिरीले गरेका थिए।

lcci
You might also like

Comments are closed.