काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले नेपालका लागि एमसीसी कम्प्याक्टमा अतिरिक्त ५ करोड अमेरिकी डलर (करिब ७ अर्ब रुपैयाँ) अनुदान थप गर्ने घोषणा गरेको छ। योसँगै एमसीसी परियोजनाअन्तर्गत उपलब्ध कुल अनुदान ७४ करोड ७० लाख अमेरिकी डलर (झन्डै १ खर्ब ६ अर्ब रुपैयाँ) पुगेको छ।
सम्झौताअनुसार अमेरिकाबाट ५५ करोड अमेरिकी डलर र नेपाल सरकारबाट १९ करोड ७० लाख डलर बराबरको लागत विनियोजित हुने व्यवस्था छ। एमसीसीले घोषणा गरेको अतिरिक्त सहयोगले नेपालका प्राथमिकताप्राप्त प्रसारण लाइन तथा ऊर्जा पूर्वाधार परियोजनाहरूलाई समयमै पूरा गर्न महत्वपूर्ण टेवा पुग्ने बताइएको छ। यसले ऊर्जा ग्रिड सुदृढीकरण, उत्पादन–प्रसारण–व्यापार श्रृंखलामा विश्वसनीयता वृद्धि र क्षेत्रीय ऊर्जा व्यापारलाई थप मजबुत बनाउनेछ।
अनुदानले नेपाललाई अन्तर्राष्ट्रिय ऊर्जा कनेक्टिभिटीमा प्रतिस्पर्धी बनाउने, बजार पहुँच विस्तार गर्ने र अमेरिकी प्रविधि तथा प्राविधिक क्षमताको उपयोग बढाउने अपेक्षा गरिएको छ। यससँगै अमेरिकी कम्पनी तथा प्रविधि प्रदायकका लागि नेपाली ऊर्जा बजारमा प्रवेशको सम्भावना पनि बढ्ने बताइएको छ।
अमेरिकी दूतावासले जारी गरेको बयानमा यो सहयोग नेपाल–अमेरिका दीर्घकालीन साझेदारीको प्रतीक भएको उल्लेख गरिएको छ। बयानमा भनिएको छ, ‘‘यो आर्थिक सहयोगले अमेरिका र नेपालबीचको चिरस्थायी मैत्रीपूर्ण साझेदारीलाई झनै मजबुत बनाउँछ। दशकौँदेखि हामीले आर्थिक वृद्धि, ऊर्जा सुरक्षा र पारस्परिक समृद्धिका लागि सँगै काम गर्दै आएका छौँ। एमसीसी नेपाल सम्झौताले उच्च प्रभावयुक्त, ऋणरहित र अनुदानमा आधारित पूर्वाधार विकासमार्फत यस इतिहासलाई निरन्तरता दिएको छ।’’
यद्यपि एमसीसी नेपाल कम्प्याक्ट लागू भएको दुई वर्ष पूरा हुन लाग्दा समेत खर्च र कामको गति न्यून देखिएको छ। दुवै पक्षबाट विनियोजित रकम सुस्त रूपमा खर्च भइरहेकोले परियोजना समयमै पूरा नहुने आशंका बढ्दो छ।




Comments are closed.