काठमाडौं महानगरको बजेट समिति बैठक अन्तिम समयमा रद्द, बजेट प्रक्रिया अन्योलमा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आजका लागि बोलाएको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक अन्तिम समयमा रद्द गरिएको छ।

बैठकका सदस्य सचिव तथा प्रमुख प्रशासकीय अधिकृतलाई जानकारी नदिई बैठक तय गरिएपछि, सदस्यहरूबाट वैधानिकतामै प्रश्न उठेपछि मेयर साह पछि हटेका हुन्।

कानुनअनुसार असार १० भित्र आगामी आर्थिक वर्षको बजेट पेश गर्नुपर्ने बाध्यता हुँदाहुँदै पनि समिति बैठक नबसेपछि बजेट निर्माण प्रक्रिया अन्योलमा परेको छ। कार्यपालिका सदस्यहरूले बैठकको माग गर्दै मेयर साहमाथि दबाब दिँदै आएका थिए।

स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिमा मेयरसहित उपमेयर सुनिता डंगोल र कार्यपालिका सदस्यहरू रहेका छन्।असारको समयसीमा नजिकिँदै गर्दा बजेट प्रक्रिया अघि बढाउनुपर्ने बेला यस्तो निर्णयले महानगरको प्रशासनिक गतिशीलता र पारदर्शितामाथि पनि प्रश्न उठाएको छ।

अब बैठक कहिले बोलाइने हो भन्नेबारे आधिकारिक जानकारी आएको छैन।

You might also like

Comments are closed.