काठमाडौं । सार्वजनिक यातायातलाई व्यवस्थित र मर्यादित बनाउने उद्देश्यका साथ २०७२ साल फागुनमा स्थापना गरिएको महानगर यातायात प्रा.लि. पछिल्लो समय नक्कली बस सञ्चालनको समस्याले हैरान बनेको छ।
व्यवसायीहरूको सामूहिक लगानीमा सुरु गरिएको महानगर यातायातले सुरुवाती दिनदेखि नै स्तरीय, यात्रुमैत्री र सुविधा सम्पन्न सेवा दिन थालेको थियो। राजधानीको व्यस्त रुटहरूमा चल्ने रातो र सेतो रंगको आकर्षक डिजाइनयुक्त बसले यात्रुहरूमा राम्रो विश्वास कायम गर्न सफल भएको थियो।
तर पछिल्लो समय सोही नाम, रंग र डिजाइनको नक्कली बसहरू विभिन्न रुटमा सञ्चालनमा आएको र तिनीहरूले यात्रुहरूलाई झुक्याउने, दुर्घटना गराउने, तथा बसभित्र आपराधिक गतिविधिसमेत हुने क्रम बढेको कम्पनीको गुनासो छ। महानगर यातायातको बस सम्झिएर चढेका यात्रुहरूले आफ्नो झोला हराउनुका साथै सूचना दिन जाँदा मात्रै उनीहरूले चढेको बस नक्कली भएको थाहा पाउने गरेका छन्।
यस्ता घटनाका कारण महानगर यातायातको छवि बिग्रिनुका साथै यात्रु र व्यवसायी दुवै पीडित हुने गरेका छन्। अझ गम्भीर त के भने, दुर्घटना गर्ने गाडी नक्कली महानगरको हुँदाहुँदै पनि आरोप र अनुसन्धानको सुई महानगर यातायात प्रा.लिमा नै तेर्सिने गरेको कम्पनीको आरोप छ।
कम्पनीका अनुसार वर्तमान नियमअनुसार सोही नाम, काम र डिजाइनको अर्को कम्पनी दर्ता हुन नसक्ने भए पनि सम्बन्धित निकायहरूबाट कुनै स्पष्ट कदम नउठाइँदा समस्या जटिल बन्दै गएको छ। चार वर्षअघि यातायात विभागले केही नक्कली बसहरू नियन्त्रणमा लिएर चेतावनी दिए पनि त्यसपछि कुनै ठोस कारबाही नभएको कम्पनीको भनाइ छ।
महानगर यातायात प्रा.लिले हालसम्म सम्बन्धित निकायहरू — प्रहरी प्रशासन, यातायात कार्यालय र यातायात विभाग — मा पटक–पटक ध्यानाकर्षण गराउँदै आएको छ। यद्यपि, कानुनी प्रक्रिया लागू नगरेर समस्या झन जटिल बन्दै गएको गुनासो पनि गरिएको छ।
सिटी बस सेवा सुरु गर्न एकै पटक ३९ वटा बस सञ्चालन गर्नु चुनौतीपूर्ण कार्य भए पनि सुरुवाती असहयोग र नकारात्मक धारणा भित्र्याउँदै महानगर यातायातले सेवा सुधार र व्यवस्थित सार्वजनिक यातायातको अवधारणा स्थापित गरेको कम्पनीको दाबी छ।
अब कम्पनीले नक्कली बसप्रति सहनशील नीति नअपनाउने स्पष्ट पारेको छ। “अबदेखि कम्पनीको नाम, रंग र डिजाइन झल्किने सवारीसाधन सञ्चालन गरेमा कानुनी कारबाहीमा जानेछौं,” कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
कम्पनीले निकट भविष्यमा IPO जारी गर्ने योजनासहित पब्लिक लिमिटेड कम्पनीको रूपमा आमनागरिकबीच पुग्ने तयारी गरिरहेको जनाउँदै, यस्तो गम्भीर समस्या समाधानका लागि सञ्चारकर्मीहरूप्रति सहयोगको अपिल समेत गरेको छ।
महानगर यातायात प्रा.लिले सम्पूर्ण यातायात व्यवसायी, सुरक्षा निकाय, सरोकारवाला निकाय तथा सञ्चारकर्मीहरूलाई मिलेर समाधानको पहल गर्न आह्वान गर्दै यस समस्यालाई यात्रु सुरक्षासँग प्रत्यक्ष जोडिएको विषयका रूपमा लिएको छ।
Comments are closed.