काठमाडौं । म्याग्दी जिल्लामा भैंसीको शुद्ध दूधको मूल्य बढेको छ । भैंसीको शुद्ध दूध प्रतिलिटर १० रूपैयाँका दरले बढेको हो ।
कच्चा पदार्थको मूल्य उच्च भएको र दूधको मूल्य यथावत राख्दा किसानहरू मारमा परेको भन्दै फागुन ३ गतेदेखि लागु हुने गरी उपभोक्ताले खरिद गर्दै आएको मूल्यमा प्रतिलिटर १० रूपैयाँ बढाउने निर्णय सरोकारवाला निकायले गरेको हो ।
आधुनिक कृषि तथा पशुपक्षी स्रोत केन्द्रका अध्यक्ष कमल पौडेलका अनुसार बेनी नगरपालिकाका अगुवा कृषकको समूहले बेनी नगरपालिका, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, म्याग्दी उद्योग वाणिज्य संघसहित किसान र बिक्रेता समेतको उपस्थितिमा उक्त निर्णय भएको हो ।
‘बजारका सम्पूर्ण वस्तुहरूको मूल्य पटक–पटक बढ्दा अहिलेकै मूल्यमा आफूहरूको लागत पनि नउठ्ने अवस्था भएकाले हामीले बाध्य भएर अनुरोध गरेका थियौं’।अध्यक्ष पौडेलले भने, ‘यो मूल्यले किसानलाई केही राहत हुन्छ ’।
उनका अनुसार यसअगाडि प्रतिलिटर २० रूपैयाँ बढाउन ज्ञापनपत्र बुझाएकोमा सरोकारवाला निकायसँगको छलफलबाट किसानलाई प्रत्यक्ष लाभ हुने गरी मूल्य बढाउने गरी सरोकारवाला निकायसँग सहमति भएको भएको हो ।
Comments are closed.