मध्यपूर्वमा सुरक्षा संवेदनशीलता बढेपछि ‘र्यापिड एक्सन टिम’ गठन गर्ने तयारी

काठमाडौं ।   द्वन्द्वग्रस्त मध्यपूर्वमा करिब १७ लाख ३० हजार नेपाली रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका सहसचिव रामकाजी खड्काले ती क्षेत्रमा १७ लाख २९ हजार २८८ नेपाली रहेको तथ्यांक सार्वजनिक गरेका हुन् ।

उनका अनुसार इरानमा रहेका १० नेपालीमध्ये चार जना फर्किसकेका छन् भने हाल ६ जना मात्रै छन् । इजरायलमा ६ हजार ५००, इजिप्टमा ५००, ओमनमा २५ हजार, कतारमा ३ लाख ५७ हजार ९१३, कुवेतमा १ लाख ७५ हजार, साउदी अरबमा ३ लाख ८४ हजार ८६५ नेपाली रहेका छन् । यस्तै बहराइनमा २८ हजार, लेबनानमा १ हजार ५००, इराकमा ३० हजार, संयुक्त अरब इमिरेट्समा करिब ७ लाख र साइप्रसमा १७ हजार नेपाली रहेको विवरण मन्त्रालयले सार्वजनिक गरेको छ ।

बढ्दो सुरक्षा जोखिमलाई ध्यानमा राख्दै मन्त्रालयले ‘र्‍यापिड एक्सन टिम’ गठन गर्ने तयारी गरेको छ।  तत्कालका लागि सम्बन्धित देशस्थित नेपाली दूतावास र नियोगमार्फत ट्राभल एड्भाइजरी जारी गरी सतर्क रहन आग्रह गरिएको छ । साथै, त्यहाँका सरकारले जारी गरेका सुरक्षा मापदण्ड पालना गर्न नेपाली समुदायलाई अनुरोध गरिएको छ ।

खड्काका अनुसार घटनाक्रमबारे नियमित सूचना आदानप्रदान गर्न सम्बन्धित देशका राजदूत र नियोग प्रमुखहरूसँग डिजिटल माध्यमबाट समन्वय भइरहेको छ । आवश्यक परेमा छिमेकी मुलुकहरूसँग सहकार्य गरी नेपालीहरूको सुरक्षित उद्धारको विकल्पमा पनि छलफल भइरहेको मन्त्रालयले जनाएको छ ।

You might also like

Comments are closed.