व्यवसायीलाई उच्च मनोबलका साथ अघि बढ्न उद्योग मन्त्रालयको आह्वान

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योगी–व्यवसायीलाई उच्च मनोबलका साथ अघि बढ्न आग्रह गरेको छ । सोमबार मन्त्रालयमा निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरूसँग भएको छलफलमा मन्त्रालयका सचिवद्वय डा. रामप्रसाद घिमिरे र कृष्णबहादुर राउतले मुलुकलाई नयाँ ढंगबाट अघि बढाउन निजी क्षेत्रको सक्रिय सहयोग अपरिहार्य रहेको उल्लेख गरे ।

सचिवद्वयले आउँदो चाडपर्वलाई मध्यनजर गर्दै खाद्यान्नसहितका आवश्यक सामग्री पर्याप्त मौज्दात रहेकाले कुनै अभाव नहुने जानकारी दिएका छन् । साथै, उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता र विक्रेतालाई कृत्रिम अभाव सिर्जना हुनेगरी वस्तु संचित नगर्न र नगराउन आग्रह गरिएको छ । मन्त्रालयले आपूर्ति व्यवस्थामा ठुलो असर नपर्ने भएकाले सर्वसाधारणलाई समेत वस्तु अनावश्यक रूपमा संचित नगर्न अपिल गरेको छ ।

आयात सहज बनाउन कोरोल्ला नाका खुला गरिएको र त्यहाँबाट ठूलो मात्रामा सामग्री भित्रिरहेको जानकारी दिँदै मन्त्रालयले तातोपानी नाका खोल्ने प्रक्रिया अघि बढिरहेको र दक्षिणतर्फका नाकाहरू पनि क्रमशः सञ्चालनमा आउने जनाएको छ ।

छलफलका क्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले अप्ठ्यारोमा परेको अर्थतन्त्रलाई सबै मिलेर अघि बढाउनुपर्नेमा जोड दिए । उनले उत्पादनमुखी उद्योग, होटल, रिटेल चेन, साना व्यवसाय तथा उद्योगी–व्यवसायीका आवास तथा भवनमा भएको आगजनी, लुटपाट र तोडफोडका कारण निजी क्षेत्र निराश भए पनि नयाँ उत्साहसहित उठ्ने प्रयास भइरहेको बताए । साथै, निजी क्षेत्र सरकारसँग नजिक रहेर काम गर्न तयार रहेको उल्लेख गर्दै सरकारले उद्योगी–व्यवसायीलाई आत्मविश्वास दिलाउनुपर्नेमा जोड दिए ।

You might also like

Comments are closed.