म्रिस्तीखोलाको व्यावसायिक विद्युत् उत्पादन

नारच्याङ । म्रिस्तीखोला जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन थालिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित सो आयोजनाबाट व्यवसायिक विद्युत् उत्पादन थालिएको हो । माउन्टेन इनर्जी नेपालले बनाएको म्रिस्तीखोला जलविद्युत् आयोजना मुलुककै स्वदेशी लगानीमा निर्माण भएको सबैभन्दा ठूलो र लागतको हिसाबले सस्तो आयोजना हो । ४२ मेगावाट क्षमताको म्रिस्तीखोलाले विसं २०७८ जेठ १ गतेदेखि परीक्षण उत्पादन शुरु गरेको थियो ।

परीक्षण अवधि पूरा गरेर नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् बिक्री गर्न थालेको आयोजनाको साइट अफिसका प्रमुख चुडामणि निरौलाले बताए । “निर्माण र परीक्षणको सबै काम सकेर व्यावसायिक उत्पादन थालेका छौँ”, उनले भने, “विद्युत् प्राधिकरणले सबै विद्युत् खपत गर्न नसकेका कारण ३० मेगावाटको हाराहारीमा उत्पादन गरेका छौँ ।”

प्राधिकरणले खपत गर्न सकेको अवस्थामा पूर्ण क्षमतामा चलाउने निरौलाले बताए । कोरोना, निषेधाज्ञा र बाढीपहिराको असहज अवस्थाका बावजुद नेपाल विद्युत् प्राधिकरण, ठेकेदार कम्पनी भ्वाइथ नेपाल, हाइ हिमाल, होम्स र परामर्शदाता हाइड्रो कन्सल्टका प्राविधिक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर म्रिस्तिखोलालाई निर्माण पूरा गराउन खटिएका थिए ।

नारच्याङ बेशीगाउँस्थित कालीगण्डकीको बायाँ किनारमा रहेको विद्युत् गृहमा १२÷१२ मेगावाट क्षमताका तीन वटा युनिट जडान भएको आयोजनाका प्लान्ट म्यानेजर दीपककुमार शाहले बताए । दानास्थित २२० केभी क्षमताको सबस्टेशन जोड्ने ११ वटा टावर र चार किलोमिटर १३२ केभी क्षमताको प्रशारण लाइन बनाएर केन्द्रीय ग्रिडमा विद्युत् पठाइएको छ ।

निलगिरि र घलेम्दी खोलाको दोभानमा २३ मिटर अग्लो बाँध बनाएर दुई हजार २७०।५ मिटर सुरुङबाट ल्याएको पानी एक हजार ५०० मिटर पेनस्टक पाइपबाट २५० मिटर उचाइको हेडबाट विद्युतगृहमा खसालेर बिजुली उत्पादन गरिएको छ । पहाडभित्र ११५ मिटर लम्बाइ, ८।५ मिटर चौडाइ र १३ मिटर गहिराइ भएको दुई वटा बालुवा थिग्राउने भूमिगत पोखरी (क्यानल) र पावरहाउस परिसरमा स्विचार्ड बनाएको छ । प्रतिमेगावाट रु १३ करोड ४३ लाखमा निर्माण सकिएको प्रवद्र्धक कम्पनीले जनाएको छ ।

प्रभावित क्षेत्रका बासिन्दाले सत्र लाख तीन सय ५१२ कित्ता सेयर लगानी गरेका छन् । प्रर्वद्धकहरुले नेपालमा हालसम्मकै सस्तो लागतमा आयोजना निर्माण गरेको बताएका छन् । स्वदेशी लगानीमा निजी क्षेत्रले नेपालमा बनाएको मध्य ठूलो आयोजना हो । बि।स। २०७३ जेठ ३१ गतेदेखि निर्माण शुरु भएको थियो ।

म्रिस्तिखोलामा भाटभटेनी समूह, नविन, लक्ष्मी, सिद्धार्थ, एस डेभलपमेन्ट, नेपाल इन्भेष्टमेन्ट बैंक र जलविद्युत् विकास कम्पनीको लगानी छ । दुइ मेगावाट क्षमताको तातोपानी र पाँच मेगावाटको घलेम्दीखोला जलविद्युत् आयोजना यसअघि नै सञ्चालन भएको नारच्याङमा ११० मेगावाट क्षमताको निलगिरि र निलगिरि क्यासकेड, ६ मेगावाटको रेलेखोला निर्माणाधीन अवस्थामा छन् । कालीगण्डकी र मिस्ट्रीखोला माथि दुई वटा बेलिब्रिज बनाएर नारच्याङलाई सडक सञ्जालमा जोडेको म्रिस्तीखोलाले बनाएको सडकलगायत पूर्वाधारबाट स्थानीयवासीलाई सुविधा पुगेको वडाध्यक्ष चन्द्रप्रकाश फगामीले बताए ।

विद्युत् विकास विभागबाट विसं २०६४ मा जनेरेशन लाइसेन्स पाएको म्रिस्तीखोलाको निर्माण प्रशारण लाइन अभाव, भौगोलिक विकटता, भूकम्प, नाकाबन्दी र कोरोना महामारीबाट प्रभावित बनेको थियो । शुरु गरेको पाँच वर्षमा निर्माण सकिएको म्रिस्तीखोला जलविद्युत् आयोजनाले म्याग्दीका अन्य आयोजनामा लगानी भित्र्याई विद्युत् विकासलाई गति दिन सकारात्मक सन्देश प्रवाह गराउन सफल भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए ।

१२ मेगावाट क्षमताको म्रिस्तीखोला क्यासकेड आयोजना निर्माणका लागि विद्युत् विकास विभागबाट माउन्टेन इनर्जी नेपालले नै अध्ययनको अनुमति लिएको छ । ४२ मेगावाटको आयोजनाको विद्युत गृहबाट निस्किएको पानी सोझै सुरुङमा छिराउने गरी अर्को (क्यासकेड) आयोजनाको परिकल्पना गरिएको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.