पोखरा । पोखरा–९ नयाँबजारमा अवस्थित मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाले शुक्रबार आफ्नो स्थापनाको नवौं वार्षिकोत्सव मनाएको छ । स्थापना दिवसको अवसर पारेर संस्थाले पोखरा–२२ पुम्दीभुम्दीमा रहेको आदर्श ज्येष्ठ नागरिक समितिका ९ जना ज्येष्ठ नागरिकहरुलाई नगदसहित दोसल्ला ओढाएर सम्मान गरेको हो ।
पोमनपा–२२ का वडा अध्यक्ष मित्रलाल बरालको प्रमुख आतिथ्यतासँगै राष्ट्रिय सहकारी बैँक पोखरा शाखाका प्रमुख नरेश पाण्डेको विशेष आतिथ्यतामा पोखरा पुम्दीभुम्दी स्थित सक्रिय महिला बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा सम्पन्न कार्यक्रमको अध्यक्षता मित्रमिलन साकोसका अध्यक्ष रमण पौडेलले गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरालले मित्रमिलनले ज्येष्ठ नागरिकहरुको सम्मानमा गरेको कार्यक्रम प्रशंसनीय रहेको बताए । वडाका तर्फबाट पनि ज्येष्ठ नागरिकहरुका लागि सहयोग भइरहेको र पोखरेली परिवेशमा छुट्टै पहिचान बनाउन सफल मित्र मिलनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनेमा आफू विश्वस्त रहेको उनले जनाए ।
कार्यक्रममा बोल्दै विशेष अतिथि राष्ट्रिय सहकारी बैंक पोखरा शाखाका प्रमुख नरेश पाण्डेले सहकारीले आफ्नो सामाजिक उत्तरदायित्व बहनसँगै सहकारीहरुका भिडमा विशेष पहिचान बनाएर अघि बढेकामा आभार व्यक्त गरे ।
कार्यक्रममा लेखा समिति सदस्य प्रतीक लामिछानेले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा आदर्श ज्येष्ठ नागरिक समितिका अध्यक्ष तथा पूर्व वडाध्यक्ष खडानन्द बराल, शुक्रराज माविका प्र.अ.नरनाथ बराल, आदर्श जेष्ठ नागरिक समितिका व्यवस्थापक भुवानीप्रसाद बरालसँगै सम्मानित जेष्ठ नागरिक मध्येबाट तारापति बरालले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा बोल्दै कार्यक्रमका सभाध्यक्ष रमण पौडेलले सहकारी गतिविधिबारे स्पष्ट पार्दै सहकारीले युवा, महिला लक्षित कार्य गर्दै आएको र आगामी दिनमा जेष्ठ नागरिक लक्षित कार्यक्रम गर्ने योजना रहेको सुनाए । कोखदेखि शोकसम्म र ओठदेखि गोठसम्म सहकारी कार्यक्रम लिएर अघि बढेको स्मरण गराउँदै जेष्ठ नागरिक जिउँदा भगवान् भएकाले सम्मान गर्न पाउँदा ज्यादै खुसी लागेको बताए ।
गत वर्ष मानव सेवा आश्रम पोखरा छोरेपाटनमा आश्रितहरुका लागि सहयोग लिएर पुगेको सहकारीले नवौं वार्षिक उत्सव भएकाले समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार सबै भन्दा ज्येष्ठ नौ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको संस्थाका सिइओ किरण अधिकारीले बताए ।
सम्मानित हुने ज्येष्ठ नागरिकहरुमा लक्ष्मी बराल, लेखनाथ बराल, देवीलाल बराल, टुल्की बराल, पोतनाथ बराल, धनरुपा बराल, बसन्धरी बराल, तारापति बराल र नरहरि बराल छन् ।
कार्यक्रममा सहकारीले संस्थाका लागि २५ थान कुर्सी र एक थान फाइल दराज समेत हस्तान्तरण गरेको थियो । सहकारी संस्थाका सेयर सदस्य, सल्लाहकार दण्डपाणि बरालको संयोजकत्वमा भएको कार्यक्रमको सञ्चालन तथा सहकारीका सात सिद्धान्त वाचन संस्थाका का.सदस्य गोपाल खनालले गरेका थिए ।
Comments are closed.