धुम्बाराहीमा मुक्तिनाथ विकास बैंकको शाखा

काठमाडौं । मुक्तिनाथ विकास बैंकले काठमाडौं महानगरपालिका वडा नं.– ४, धुम्बाराही (चिलिमे टावरमा रहेको) मा शाखा शुभारम्भ गरेको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले शाखाको उद्घाटन गरेका हुन् ।

वित्तीय सेवाको विविधिकरण गरी नेपाली वित्तीय बजारमा अलग्गै पहिचान बनाएको, मुक्तिनाथ विकास बैंकले जमलमा रहेको शाखा कार्यालयलाई नयाँ स्थान, काठमाडौं महानगरपालिका वडा नं.– ४ मा रहेको चिलिमे टावरमा स्थानान्तरण गरी औपचारिक रुपमा वित्तीय सेवाको शुभारम्भ गरेको छ । उद्घाटन कार्यक्रममा बोल्दै पौडेलले बैंकले कृषि क्षेत्रमा गरेको लगानी र डिजिटल बैंकिङ सेवाको विस्तारको प्रशंसा गर्दै जोखिम व्यवस्थापनमा पनि त्यत्तिकै चनाखो हुन सुझाव दिए । साथै, बैंकले हाल गरी रहेकै प्रगतिलाई निरन्तरता दिंदै यो शाखाबाट पनि उत्कृष्ट सेवा प्रदान गर्न शुभकामना व्यक्त गरे ।

सो समारोहमा बैंकका सञ्चालक उमेश आचार्यले स्वागत, प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको अवस्था र आगामी योजना तथा निवर्तमान अध्यक्ष तथा संस्थापक प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले नेपालको अर्थतन्त्र तथा वित्तीय क्षेत्रको सबलीकरणको लागि बैंक तथा नियमक निकायले अख्तियार गर्नु पर्ने रणनीतिहरुको बारेमा बोलेका थिए । कार्यक्रमको सभापतित्व बैंकको सञ्चालक समितिको अध्यक्ष खिम प्रकाश मल्लले गरेका थिए । साथै अध्यक्ष मल्लले बैंकको सेवाको गुणस्तरमा अझै सुधार गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। नयाँ र आधुनिक भवनबाट पूर्ण वित्तीय सेवा प्रदान गर्न पाउँदा सेवाग्राहीहरुले उत्कृष्ट ग्राहक सेवाको महशुस गर्नु हुने विश्वास बैंकले लिएको छ ।

एक विशेष समारोहको आयोजना गरी गरिएको उक्त कार्यक्रममा बैंकको वर्तमान तथा पूर्व सञ्चालकहरु, संस्थापक तथा सर्वसाधारण सेयरधनीहरु, विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरु, ग्राहक तथा स्थानीय नागरिकहरूको उपस्थिति रहेको थियो । सेवाग्राहीहरुको आवश्यकतालाई मध्यनजर गरी सञ्चालनमा ल्याइएको उक्त नयाँ कार्यालय रिङ्गरोडसंग जोडिएको र पर्याप्त पार्किङ्ग सुविधा रहेकोले सबैको पहूँचमा सहजता हुने बैंकले जनाएको छ ।

You might also like

Comments are closed.