‘मोदीगंगा आयल स्टोर्स’सँगै रेष्टुरेन्ट, कफी सप र होटलको सुविधा

अन्नपूर्ण (कास्की) । नेपालका धेरै पेट्रोल पम्पहरु अव्यवस्थित तथा पुराना छन् । न पार्किङको सुविधा न यात्रुहरुलाई आवश्यक राम्रो शौचालय । धेरैले त्यस्ता पेट्रोल पम्पमा गाडी रोकेर डिजेल तथा पेट्रोल राख्न रुचाउँदैनन् । चिटिक्क परेको पेट्रोल पम्प जहाँ सम्पूर्ण सेवा सुविधाहरु होेस्, धेरैको चाहना यस्तो हुन्छ । यस्तै चाहना राख्नेहरुलाई सम्बोधन गर्नेगरी सम्पूर्ण सेवा सुविधासहित कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित नयाँपुलमा सुविधासम्पन्न पेट्रोलपम्प सञ्चालन भइरहेको छ ।

मोदी गंगा ग्रुप अन्तर्गत सञ्चालित ‘मोदीगंगा आयल स्टोर्स कम्पनी’ गण्डकी प्रदेशकै नमुना पेट्रोलपम्पमा पर्न सफल छ । जहाँ प्रशस्त पार्किङको सुविधा छ । सफा तथा चिटक्क परेको शौचालय । त्यतिमात्रै होइन भोकाएर आएका यात्रुलाई सेवा प्रदान गर्न रेष्टुरेन्टको सुविधा । कफी पारखीहरुलाई लक्षित गरी कफी सप पनि आडैमा छ । बस्न चाहनेहरुलाई लक्षित गरी पेट्रोल पम्पसँगै सुविधा सम्पन्न होटल पनि सञ्चालनमा छ । जहाँ ग्रोसरीको सुविधा पनि उपलब्ध छ ।

पेट्रोल पम्पसँगै धेरै सुविधाहरु एकै ठाउँबाट प्रदान गर्दा सडकमा हिड्ने यात्रुहरु लगायत धेरै सेवाग्राही लाभान्वित हुने गरेको सञ्चालक लोकराज पौडेल बताउँछन् । ‘हामीले सेवालाई अझै विस्तार गर्ने क्रममा छौं,’ उनले भने, ‘इलेक्ट्रिक गाडीका लागि छिट्टै इचार्जिङ स्टेसनको सेवा सुरु गर्नेछौं ।’

पेट्रोलपम्पबाट रातको समयमा पनि सेवा प्रदान गरिरहेको पौडेलले जानकारी दिए । पेट्रोल पम्पमा एक पटक प्रवेश गरेका यात्रु तथा चालकहरु त्यसपछि निरन्तर आउने गरेको पौडेलले अनुभव सुनाए ।

नयाँ पुल विश्व प्रशिद्ध ट्रेकिङ रुटको प्रस्थान विन्दु हो । घान्द्रुक, अन्नपूर्ण बेस क्याम्प, पुनहिल लगायतका प्रशिद्ध ट्रेकिङ रुट यहीँबाट सुरु हुन्छ । ‘पोखरा–बागलुङ हाइवेमा सुविधा सम्पन्न पेट्रोलपम्प, रिसोर्ट तथा रेष्टुरेन्टको आवश्यकता महसुस गरी लगानी गरेका हौं,’ पौडेलले भने ।

You might also like

Comments are closed.