स्वदेशमै विद्युत् खपत र अन्तर्राष्ट्रिय व्यापारमा प्राथमिकता दिनुपर्छ : उपाध्यक्ष डाँगी

जलविद्युत् उत्पादन नेपालको लागि प्रचुर सम्भावनाको क्षेत्र हो । विद्युत् उत्पादनको बढ्दो तथ्यांक र आयोजना निर्णाणको स्थितिलाई हेर्दा यसको बजारीकरण र उपभोग बढाउन सकेमा विद्युत् उत्पादनबाट समृद्धिमा जान सकिने सम्भावनालाई कसैले नकार्न सक्दैन ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का उपाध्यक्ष मोहन डाँगी स्वदेशमै खपत बढाउने र विद्युत्को अन्तराष्ट्रिय व्यापारको लागि प्रतिवद्धता आउनुपर्नेमा जोड दिन्छन् । इपानको अर्को कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा दावी गर्दै आएका डाँगीसँग हामीले विद्युत् उत्पादनको अवस्था, इपानको भूमिका लगायत विषयमा कुराकानी गरेका छौं ।

हाम्रो विद्युत् उत्पादनको अवस्था कस्तो छ ?
अहिलेसम्म करीब ८ हजार ५ सय मेगावाट विद्युत् खरीद विक्री सम्झौता (पिपिए) भएका आयोजना छन् । त्यसमध्ये २ हजार ७ सय मेगावाट उत्पादन क्षमताका आयोजना बनिसकेका छन् । अरु आयोजना निर्माणको गर्न सकिने हाम्रो आकलन छ । निजी क्षेत्र विद्युत् उत्पादन तथा व्यापारमा उत्साहका साथ लागिरहेको छ । पिपिए नभएका १२ हजार मेगावाटको लागि सरकराले पिपिए गरिदिनुपर्छ भन्ने हाम्रो माग छ । त्यो विजुली उत्पादन भयो भने नेपालमा खपत हुनुका साथै निर्यात पनि हुन्छ ।

उत्पादनसँगै उपभोगको सुनिश्चितताका लागि के गरिनुपर्ला ?
नेपाल विद्युत् प्राधिकरणले ट्रान्समिसन लाइन देशभरि पुर्याउनपर्छ र भरपर्दो बनाउनुपर्छ । हरेक घर घरमा बिजुली पुग्यो भने ग्यासको आयात पनि कम हुन्छ । बिजुलीबाट नै खाना पकाउने क्रम बढ्छ । हरेक परिवारमा पैसा पनि बचत हुन्छ । बिजुली गएको बेला इमर्जेन्सी समयमा मात्र ग्यास चलाउछु अन्य समयमा बिजली नै प्रयोग गर्छु भन्ने धारणा आम नागरिकमा ल्याउन आवश्यक छ । नेपालमा भएको विद्युत् खपतले मल्टिपल इफेक्ट पर्छ । पहिलो प्राथमिकता भनेको नेपालभित्र खपत बढाउनुपर्छ । नेपालमा खपत नहुने बिजुली निर्यात गर्नको लागि राज्यले पहल गर्नुपर्छ ।

ऊर्जा क्षेत्रको विकासा लागि राज्यले गरेका प्रयासलाई कसरी हेर्नुपर्छ ?
मुलकलाई छिटै माथि उकास्ने क्षेत्र भनेको ऊर्र्जा क्षेत्र हो । सरकारले ऊर्र्जा क्षेत्रलाई विशेष प्राथमिकताका साथ हेर्नुपर्छ । यस क्षेत्रमा भएका अप्ठ्यारा समाधान गर्न सहज वातावरण सृजना गर्नुपर्छ । सरकारी क्षेत्रबाट प्रयास नै नभएका होइनन् । अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको क्रममा भएका प्रयास पनि महत्वपूर्ण छन् ।

१० वर्षमा १० हजार मेगावाट जलविद्युत् किन्ने घोषणा, नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौताका लागि सहमति, नेपालले भारत हुँदै बंगलादेशमा ५० मेगावाटसम्म विद्युत् निर्यात गर्न पाउने सहमति, पञ्चेश्वर जलविद्युत् आयोजनाको डीपीआर ३ महीनाभित्र टुंगो लगाउने लगायतलाई हामीले सकारात्मक रूपमा हेर्नुपर्छ ।

वर्तमान कार्यसमितिमा उपाध्यक्ष हुनुहुन्छ, यो कार्यकालमा के के काम भए ?
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को वर्तमान कार्य समिति असहज अवस्थाबाट अगाडि बढेको हो । विश्वव्यापी कोरोना महामारी, आर्थिक मन्दी लगायतका समस्याका बीच हामीले धेरै काम गर्ने प्रयास गर्यौं । कार्य समितिमा उपाध्यक्षको रूपमा मैले भूमिका निभाउन पाएँ । यो कार्यकालमा सोंचे जति काम हुन पाएनन् तथापि काम नै भएन भन्ने होइन । यो समयमा धेरै महत्वपूर्ण काम भएका छन् ।

हाम्रो कार्यकालमा हामीले पावर समिट गर्यौं । अन्तर्राष्ट्रिय प्रतिनिधिको उपस्थितिमा नेपालमा ऊर्जा उत्पादन, पूर्वाधार त्यसको बजार लगायतमा गरिएको छलफल एकदमै महत्वपूर्ण रह्यो । यो समिट निजी क्षेत्रले गरेपनि सरकारले गर्ने काम हामीले गरेका हौं । संस्थागत विकास र नीतिगत सुधारका काम पनि धेरै भएका छन् ।

कोभिड महामारीका कारण असर परेका आयोजनालाई क्षतिपुर्ति दिलाउने, आयोजनाको अनुमतिपत्रको समय थप गर्ने, सर्वेक्षण अनुपतिपत्रलाई १ वर्षसम्मको समय प्रदान गर्ने लगायत काम वर्तमान कार्य समितिले गरेको छ ।

ऊर्जा क्षेत्रमा तपाईंको संलग्नता कहिले देखि हो ?
म विगत १५ वर्षदेखि ऊर्र्जा क्षेत्रमा आवद्ध छु । म संलग्न भएका ४२ दशमलव २ मेगावाटका तीन आयोजना निर्माण सम्पन्न भएका छन् । ५२ मेगावाटका दुई आयोजना निर्माण भइरहेका छन् । २५२ मेगाावाटका दुई आयोजना अध्ययनका क्रममा छन् ।
१५ वर्ष अगाडिदेखि नै इपानको साधारण सदस्य छु । अहिले उपाध्यक्ष भएर काम गरिरहेको छु ।

इपानमा अबको कार्यकालमा यहाँको दावी कुन पदमा रहन्छ ?
अहिलेको ३ वर्षमा गर्न नसकेका काम गर्नुका साथै थप नयाँँ कामहरू सफल बनाउनुपर्छ भन्ने लागेर वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने योजना बनाएको छु ।

के के छन् यहाँका प्रतिवद्धता ?
नेपालको पानी समृद्धीको खानी भन्ने हाम्रो धारणा छ । नेपाललाई छोटो समयमा कुनै क्षेत्रले विकसित गराउन सक्छ भने त्यो ऊर्र्जा क्षेत्र हो । जति क्षेत्र बढ्दै जान्छ त्यसमा समस्या तथा चुनौती पनि थपिँदै जान्छन् । ति चुनौतीसँग जुधेर ऊर्र्जा क्षेत्रको निजी क्षेत्रलाई संरक्षण प्रदान गर्ने नेतृत्वदायी भुमिका निर्वाह गर्नेछु ।अहिलेको ३ वर्ष के के काम गर्यौं र अबको ३ वर्षमा के के काम गर्ने भनेर अवधारणा पत्र प्रस्तुत गर्नेछौं ।

You might also like

Comments are closed.