मौद्रिक नीति: विदेश जाने नेपालीलाई ३ हजार डलरसम्म सटही सुविधा

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो मौद्रिक नीति सार्वजनिक गरेको छ ।  राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले शुक्रबार आयोजित कार्यक्रममा नीति सार्वजनिक गर्दै आर्थिक वृद्धिलाई गति दिने र वित्तीय स्थिरता कायम राख्ने उद्देश्यले नीति ल्याइएको बताएका छन् ।

गभर्नर पौडेलका अनुसार मुद्रास्फीति ५.७ प्रतिशतमा सीमित राख्ने लक्ष्य रहेको छ भने आगामी वर्षको आर्थिक वृद्धि दर ६ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । हाल ७ महिनाको वस्तु तथा सेवा आयात गर्न पर्याप्त विदेशी विनिमय सञ्चिति कायम गरिएको जानकारी उनले दिए ।

मौद्रिक नीतिअनुसार, आगामी वर्ष निजी क्षेत्रको कर्जा प्रवाह १२ प्रतिशतले विस्तार गरिनेछ भने विस्तृत मुद्रा आपूर्ति (ब्रोड मनी) १३ प्रतिशतले बढाइनेछ । बैंक दर घटाएर ६ प्रतिशत र नीतिगत दर घटाएर ४.५ प्रतिशत बनाइएको छ। निक्षेप संकलन दर पनि घटाएर २.७५ प्रतिशतमा झारिएको छ ।

गृह निर्माण वा पहिलो घर खरिदका लागि कर्जा सीमा २ करोडबाट बढाएर ३ करोड पुर्याइएको छ । पहिलो घरका हकमा कर्जा–मूल्य अनुपात ८० प्रतिशत तोकिएको छ भने अन्य घरका लागि यो अनुपात अधिकतम ७० प्रतिशत हुनेछ ।

शेयरधितो कर्जाको सीमा पनि बढाइएको छ। अब एक ग्राहकले बैंक तथा वित्तीय संस्थाबाट २५ करोड रुपैयाँसम्म शेयरधितो कर्जा लिन सक्नेछन् ।  यसअघि यो सीमा १५ करोड रुपैयाँ थियो । साथै, व्यक्तिगत सेयर धितो कर्जाको सीमा पनि वृद्धि गरिएको छ।

त्यस्तै, विदेश भ्रमणमा जाने नेपाली नागरिकले अब ३ हजार अमेरिकी डलरसम्मको विदेशी मुद्राको सटही सुविधा पाउनेछन् ।  यो सीमा यसअघि २ हजार ५ सय डलर थियो । कर्जा वर्गीकरण र कर्जा नोक्सानीको पुनरावलोकन गरिने गभर्नर पौडेलले बताएका छन् ।  खराब कर्जा (एनपीए) बढ्दै गएको सन्दर्भमा जोखिम व्यवस्थापन मजबुत बनाउन यो कदम चालिएको उनले बताए ।

गभर्नर पौडेलले भने, “बैंकिङ प्रणालीमा रहेको तरलता उपयोग गर्दै कर्जा प्रवाह बढाउने र ब्याजदरलाई व्यवस्थापन गर्ने उद्देश्यले मौद्रिक नीति ल्याइएको हो । यसले शेयर बजारका लगानीकर्तालाई समेत उत्साह दिने अपेक्षा गरिएको छ ।”

राष्ट्र बैंकले आवश्यकताअनुसार तरलता व्यवस्थापन गर्न ऋणपत्र जारी गर्ने र वित्तीय पहुँच वृद्धि, भुक्तानी प्रणालीको सुदृढीकरण, लघुवित्त क्षेत्र सुधार तथा सम्पत्ति शुद्धिकरण निवारणलाई समेत प्राथमिकता दिएको जनाएको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.