मदरल्याण्डमा शिक्षक–अभिभावक अन्तरक्रिया कार्यक्रम

पोखरा । पोखराको मदरल्याण्ड माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीका अभिभावकबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कक्षा ११ र १२ मा अध्यापन गर्ने शिक्षक र अभिभावकबीच बिहान र दिउँसो गरी दुई दिनसम्म छुट्टाछुट्टै चरणमा सम्पन्न भएको उक्त कार्यक्रममा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष एवम् शैक्षिक प्रशासक प्रेमनारायण पोख्रेलले सहजीकरण गरेका थिए ।

यस अवसरमा विद्यालय, शिक्षक र अभिभावकको साझा उद्देश्य विद्यार्थीहरू असल र राम्रो बनुन् भन्ने रहेको बताँउदै सहजकर्ता पोख्रेलले जीवननोपयोगी सिपका लागि पढाइबाहेक घरका आफ्ना कामहरू, समाचार सुन्ने र पढ्ने, भाषाको अध्ययन गर्ने, संस्कार सिक्ने, समयको महत्व बुझ्ने र समयमा काम गर्ने कुरामा छोराछोरीलाई लगाउनुपर्ने विषयमा जोड दिएका थिए । निरन्तर व्यायामका साथै परिवारका सबै सदस्यहरू एकै ठाउँमा जम्मा भएर दैनिक केही समय कुराकानी गर्ने बानी बसाल्नाले अहिलेका विद्यार्थीहरूमा अभिभावकसँग आफ्ना कुरा खोल्ने स्वभावको विकास हुने बताए ।

अहिलेका विद्यार्थीहरूमा मोबाइल, विद्युतीय सामाजिक सञ्जाल र अनलाइन गेमसम्बन्धी समस्याहरू धेरै भएकाले विद्यालय प्रशासन, शिक्षक र अभिभावकहरू पनि चनाखो बन्नुपर्ने बताँउदै उपस्थित अभिभावकहरूमध्ये लक्ष्मी न्यौपाने, कृष्ण केसी, ओमबहादुर कार्की, शिवराज आचार्यलगायतले बेलाबेलामा विद्यार्थीहरूलाई अभिभावक, शिक्षक र विद्यालयले अभिप्रेरित परामर्श गर्नुपर्ने विषयमा जोड दिए ।

यसै अवसरमा अभिभावकका जिज्ञासा मेट्दै विद्यालयका निर्देशक त्रिभुवन शर्मा र प्राचार्य नारायण बरालले विद्यार्थीहरूमा अद्भुत प्रतिभा रहेकाले उनीहरूको प्रतिभा पहिचान गरी प्रस्फुटनमा सहयोग गर्ने कार्यमा विद्यालयले जोड दिएको कुरा व्यक्त गर्दै अबको शिक्षा सहकार्यमा आधारित हुनुपर्ने, शिक्षक, विद्यार्थी र अभिभावकबिचको घनिष्ट सम्बन्धबाट मात्र शैक्षिक उद्देश्य पूरा गर्न सकिने धारणा राखे । यसका साथै अबको जनशक्तिको प्रतिस्पर्धा केबल राष्ट्रभित्र मात्र नभई अन्तर्राष्ट्रिय जगत्मा पनि हुने भएकाले विद्यार्थीहरू सैद्धान्तिक पढाइका साथ जीवनोपयोगी सिपमा पनि अगाडि बढ्नुपर्ने विचार व्यक्त गरे ।

यस शैक्षिक सत्रमा भएका गतिविधिहरू अभिभावकसमक्ष प्रस्तुत गर्दै कार्यक्रम सभापति दस जोड दुई इन्चार्ज नारायण आचार्यले कार्यक्रम समापन गर्दै धन्यवाद मन्तव्यमा उच्च शिक्षाका लागि बलियो आधार तयार गर्ने कक्षा एघार र बाह्रको बोर्ड परीक्षामा राष्ट्रिय परीक्षा बोर्डले पनि अलि कसिलो बानाएकाले विद्यार्थीहरूको उत्तम नतिजाका लागि सबै लाग्नुपर्ने बताए । कार्यक्रम प्लस टुका विज्ञान र व्यवस्थापन समूहका संयोजकद्वय लोकबहादुर गुरुङ र इन्द्रप्रसाद पौडेलले सञ्चालन गरेका थिए ।

You might also like

Comments are closed.