काठमाडौं । नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको केन्द्र (इन्टरनेसनल एजुकेसन डेस्टिनेसन) का रूपमा स्थापित गर्ने र उच्च शिक्षाको अन्तर्राष्ट्रियकरणलाई प्रवर्द्धन गर्ने साझा उद्देश्यका साथ नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र इन्टरनेसनल एजुकेसन प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइप्यान) बीच रणनीतिक समझदारीपत्रमा हस्ताक्षर भएको छ।
विगत तीन दशकभन्दा लामो समयदेखि शैक्षिक परामर्श क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्दै आएको छाता संस्था इक्यान र विदेशी विश्वविद्यालयहरूको सम्बन्धनमा नेपालमै उच्च शिक्षा प्रदान गर्ने शिक्षण संस्थाहरूको साझा संस्था आइप्यानबीच यो साझेदारी भएको हो। होटल मेरियटमा सोमबार आयोजित एक कार्यक्रमबीच दुई पक्षबीच सम्झौता भएको हो ।
विद्यार्थी र अभिभावकले प्रत्यक्ष लाभ पाउने
समझदारी पश्चात् इक्यानका सदस्य संस्थाहरूले आइप्यानसँग आबद्ध कलेज तथा शिक्षण संस्थाहरूमा सञ्चालन हुने शैक्षिक कार्यक्रम, अध्ययनका अवसर, भर्ना प्रक्रिया, प्रवेश मापदण्ड, छात्रवृत्ति तथा करियरका सम्भावनाबारे प्रत्यक्ष र आधिकारिक जानकारी प्राप्त गर्नेछन्। यसबाट विद्यार्थी तथा अभिभावकलाई थप तथ्यपरक, अद्यावधिक र गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्न ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ।
दुवै संस्थाले ‘स्टडी इन नेपाल’ अभियानलाई संयुक्त रूपमा अगाडि बढाउँदै नेपाललाई अन्तर्राष्ट्रिय विद्यार्थीहरूको आकर्षक अध्ययन गन्तव्य बनाउन सहकार्य गर्ने सम्झौतामा उल्लेख छ । अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना, शैक्षिक ब्रान्डिङ, अनुसन्धान र शैक्षिक कूटनीतिलाई सशक्त बनाउन दुवै पक्ष सहमत भएका छन्। संयुक्त रूपमा क्षमता अभिवृद्धि कार्यक्रम, शैक्षिक अभिमुखीकरण, नीतिगत संवाद, बिटुबि नेटवर्किङ र अन्तर्राष्ट्रिय शिक्षा सम्मेलन जस्ता प्रवर्द्धनात्मक कार्यहरू सञ्चालन गरिनेछ। आर्थिक रूपमा कमजोर, जेहेन्दार तथा अवसरबाट वञ्चित विद्यार्थीका लागि आइप्यानका सदस्य संस्थाहरूमा अध्ययन गर्न छात्रवृत्ति र विशेष शैक्षिक अवसरहरू उपलब्ध गराइनेछ।
समझदारीपत्र हस्ताक्षर समारोहमा इक्यानका अध्यक्ष लक्ष्मण पौडेल (एन्ड्रु) र आइप्यानका अध्यक्ष लक्ष्मण के.सी.ले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर गर्दै दुवै संस्थाका नेतृत्वले यस सहकार्यले नेपालको अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रलाई थप व्यवस्थित, प्रतिस्पर्धी र विद्यार्थीमैत्री बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् । साथै, ‘स्टडी इन नेपाल’ अभियानलाई राष्ट्रिय अभियानकै रूपमा अगाडि बढाउन सरकार, विश्वविद्यालय, निजी क्षेत्र र अन्तर्राष्ट्रिय साझेदारहरूसँग निरन्तर सहकार्य गरिने प्रतिबद्धता समेत उनीहरूले व्यक्त गरेका छन् ।
सम्झौता कार्यक्रममा बोल्दै इक्यान निवर्तमान अध्यक्ष शेषराज भट्टराईले नेपालको शिक्षालाई प्रवर्द्धन गर्न यो सम्झौता र सहकार्यले महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे । इक्यान सदस्यले नेपालको शिक्षालाई विश्वभर प्रचारप्रसार गर्न र नेपाली विद्यार्थीलाई नेपालमै अध्ययन गर्न प्रोत्साहन गर्न पनि सम्झौताले योगदान गर्ने उनको भनाइ छ ।
आइप्यान महासचिव शैलजा अधिकारीले नेपालको शिक्षालाई राष्ट्रियस्तरमा र अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्न सम्झौताको ऐतिहासिक योगदान हुने विश्वास व्यक्त गरिन् । विश्वस्तरको शिक्षा आइप्यान सदस्य संस्थाहरूले नेपालमै उपलब्ध गराइरहेको उनले बताइन् ।







Comments are closed.