काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठको नेतृत्वमा गएको पर्यटन क्षेत्र सम्बद्ध विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको टोलीले ‘पर्यटन विधेयक, २०८१’ माथिको एकीकृत सुझाव तथा धारणा संघीय संसदका सदस्यहरूलाई बुझाएको छ ।
सिंहदरबारमा आयोजित एक कार्यक्रमबीच राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं संसदीय दलका उपनेता गणेश पराजुली, सांसद प्रकाश सिंह कार्की तथा सांसद भरत पराजुलीलाई सो सुझावपत्र हस्तान्तरण गरिएको हो ।
विधेयकको मस्यौदा तयारीका सन्दर्भमा निजी क्षेत्रका तर्फबाट एकीकृत धारणा राख्दै महासंघका उपाध्यक्ष श्रेष्ठले नेपालको आर्थिक विकास र समृद्धिका लागि पर्यटन क्षेत्र नै सबैभन्दा महत्वपूर्ण उद्योग बन्न सक्ने उल्लेख गरे । उनले यस क्षेत्रलाई समयअनुकूल, व्यावसायिक तथा अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धी बनाउन ऐन, कानुन र नीतिहरूमा व्यापक सुधार आवश्यक रहेको बताए ।

टोलीले पर्यटन क्षेत्रको वास्तविक आवश्यकता र वर्तमान परिवेशलाई मध्यनजर गर्दै व्यवसायमैत्री, पर्यटनमैत्री र लगानीमैत्री नीतिगत व्यवस्था सुनिश्चित गर्न तथा संसद्मा व्यापक छलफल गरी यो विधेयक पारित गर्न विशेष अनुरोध गरेको छ ।
‘नेपालको आर्थिक समृद्धिको बलियो खम्बा पर्यटन नै हो । त्यसैले विद्यमान ऐन, नियम र कानुनहरूलाई समयसापेक्ष रूपमा परिमार्जन गरिनु आजको आवश्यकता हो,’ उपाध्यक्ष श्रेष्ठले भने ।
सुझावपत्र बुझ्दै उपनेता पराजुलीले निजी क्षेत्र र पर्यटन व्यवसायीहरूका तर्फबाट आएका सुझावहरूलाई अत्यन्त गम्भीरतापूर्वक लिएको बताए । उनले विधेयकको संशोधन प्रस्तावमा ती महत्वपूर्ण सुझावहरूलाई समेट्न आफूहरू प्रतिबद्ध रहेको समेत विश्वास दिलाए ।
सो अवसरमा विभिन्न पर्यटन सम्बद्ध संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति थियो । व्यवसायीहरूले ऐन समयसापेक्ष र खुकुलो बनेमा मात्रै विदेशी लगानी भित्रिने र मुलुकले आर्थिक गति लिने धारणा राखेका थिए ।







Comments are closed.