काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्टार्टअप र नयाँ उद्यमीहरूलाई लक्षित गरी विशेष वित्तीय साक्षरतामूलक कार्यक्रम सफलतापूर्वक आयोजना गरेको छ।
कार्यक्रमको मुख्य उद्देश्य सहभागी उद्यमीहरूलाई वित्तीय व्यवस्थापनका आधारभूत सिद्धान्त, बैंकिङ सेवामा सहज पहुँच, प्रभावकारी व्यवसायिक योजना निर्माण, बजार व्यवस्थापनका नवीनतम रणनीति, व्यक्तिगत बजेट तर्जुमा, नगद प्रवाह व्यवस्थापन, कर्जा सदुपयोग तथा ग्राहक अधिकार जस्ता महत्वपूर्ण विषयहरूमा विस्तृत जानकारी प्रदान गरी साक्षर गराउनु रहेको थियो।
बैंकका अनुसार, यस कार्यक्रममा २६ जना स्टार्टअप तथा युवा उद्यमीहरूको उत्साहजनक सहभागिता रहेको थियो। बैंकले यस कार्यक्रममार्फत उद्यमीहरूलाई वित्तीय ज्ञानको सदुपयोग गरी आफ्नो व्यापार–व्यवसायलाई अझ सुदृढ र दिगो बनाउन महत्वपूर्ण मार्गदर्शन मिल्ने विश्वास व्यक्त गरेको छ। नेपाली युवाहरूलाई उद्यमशीलताको माध्यमबाट सशक्त बनाउने र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्ने बैंकको प्रतिबद्धता रहेको जनाइएको छ।
यसका साथै, मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरूको सहजताका लागि विभिन्न आधुनिक डिजिटल सेवाहरू पनि विस्तार गर्दै लगेको छ। बैंकले हालै ‘मुक्तिनाथ फाइदा एप’ सञ्चालनमा ल्याएको छ, जसले मोबाइल बैंकिङका अनेक फाइदाहरू प्रदान गर्दछ। यसैगरी, मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, तथा खातामै रेमिट्यान्स जम्मा गर्ने जस्ता सुविधाहरू बैंकको शाखामा भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था मिलाइएको बैंकले जानकारी दिएको छ।
Comments are closed.