सामाजिक कामको लक्ष्यसहित मुक्तिनाथ फाउण्डेसन स्थापना

काठमाडौं । सामाजिक क्षेत्रमा काम गर्नेगरी मुक्तिनाथ फाउण्डेसन स्थापना गरिएको छ । मुक्तिनाथ विकास बैंक, मुक्तिनाथ कृषि कम्पनी र उक्त समूहसँग सम्बन्धित व्यक्तिहरूको अगुवाइमा संस्था स्थापना गरिएको हो ।

गत असोज १ गते यो संस्थालाई कम्पनी ऐन २०६३ अनुसार गैरनाफामूलक संस्थाका रूपमा दर्ता गरिएको छ । संस्थाको प्रथम सञ्चालक समितिमा भरतराज ढकाल, सिताराम काफ्ले, तुलसीराम ढकाल, नारायणकुमार श्रेष्ठ, रामप्रसाद पोखरेल, विमलकुमार निरौला र निशा बस्नेत छन् ।

मंगलबार एक कार्यक्रमबीच संस्थाको विस्तृत योजना सार्वजनिक गरिएको छ । कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष तथा मुक्तिनाथ विकास बैंकका अध्यक्ष भरतराज ढकालले फाउन्डेसनले लक्षित वर्गको जीवनस्तर उकास्ने कार्यक्रम गरिने बताए ।

व्यावसायिक शिक्षा तथा गुणस्तरीय स्वास्थ्य सेवा जस्ता आधारभूत सेवाहरूमा सबैको पहुँच पुर्‍याउन सहजीकरण गर्ने, विभिन्न किसिमका दिवा सेवा केन्द्र, स्याहार केन्द्र, ज्येष्ठ नागरिक आश्रम, मिलनकेन्द्रहरू सञ्चालन गर्न पहल गर्ने लगायतका काम गर्ने फाउण्डेसनको उदेश्य छ । पहिलो वर्षमा २ हजार र ५ वर्षभित्रमा १० हजार सदस्य बनाउने संस्थाको लक्ष्य छ ।

कार्यक्रममा बोल्दै मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले सामाजिक काम गर्ने पवित्र उदेश्यसहित संस्था स्थापना भएको बताए ।

You might also like

Comments are closed.