काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आसन्न निर्वाचनका लागि महासचिव पदमा शैक्षिक परामर्श व्यवसायी नवराज केसीले उम्मेदवारी घोषणा गरेका छन् । उनले अध्यक्ष उम्मेदवार लक्ष्मण पौडेल (एन्ड्रयु) प्यानलबाट आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन् ।
बिगत १७ वर्षदेखि शैक्षिक परामर्श क्षेत्रमा निरन्तर क्रियाशील केसी यस क्षेत्रका अनुभवी व्यक्तित्व मानिन्छन् । जिआईईसीका सञ्चालक समेत रहेका उनले यसअघि एरि नेपालमा दुई कार्यकाल सचिव भएर काम गरिसकेका छन् ।
केसीसँग नेपाल, भारत र अष्ट्रेलियामा हाइ कमिसनसँगको सहकार्यमा विभिन्न ठूला इभेन्टहरू सफलतापूर्वक सम्पन्न गरेको अनुभव छ । ‘शैक्षिक परामर्श क्षेत्रका चुनौती र सम्भावनालाई नजिकबाट बुझेको छु,’ केसी भन्छन्, ‘मैले यो व्यवसायलाई ग्राउण्ड लेभलबाटै अनुभव गरेको छु । १७ वर्षको मेरो अनुभव र अन्तर्राष्ट्रियस्तरको नेटवर्कलाई इक्यानको संस्थागत विकासमा लगाउने मेरो योजना छ ।’
निर्वाचनको सरगर्मी बढिरहँदा केसीले आफू जत्तिको अनुभवी मान्छे नेतृत्वमा आउँदा समग्र परामर्श क्षेत्रकै मर्यादा र व्यावसायिकतामा गुणात्मक सुधार आउने दाबी गरेका छन् । राज्यका निकायहरूसँगको समन्वय, सदस्यहरूको हकहित संरक्षण र वैदेशिक शिक्षालाई व्यवस्थित बनाउन आफ्नो भूमिका प्रभावकारी हुने उनको विश्वास छ ।

परामर्श क्षेत्रमा देखिएका नीतिगत अन्योलता चिर्न र इक्यानलाई थप उचाइमा पु¥याउन आफू सक्रिय हुने केसीको दावी छ ।




Comments are closed.