नबिल बैंकको नयाँ मास्टरकार्ड सार्वजनिक

काठमाडौं । नबिल बैंकले मास्टरकार्ड नेटवर्कअन्तर्गत नयाँ र आधुनिक डेबिट कार्ड सार्वजनिक गरेको छ । ग्राहकलाई थप सुविधा, सुरक्षात्मक भुक्तानी र सहज डिजिटल बैंकिङको अनुभव दिने उद्देश्यले राजधानीमा आयोजित विशेष कार्यक्रममा नयाँ कार्ड औपचारिक रूपमा जारी गरिएको बैंकले जनाएको छ ।  कार्यक्रममा नबिल बैंक र मास्टरकार्डका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

नयाँ कार्ड सार्वजनिक गर्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले यो उपलब्धि ग्राहकलाई विश्वस्तरीय सेवा प्रदान गर्ने बैंकको निरन्तर प्रतिबद्धताको हिस्सा भएको बताए । “नबिल बैंकले सुरुवातदेखि नै ग्राहकलाई उत्कृष्ट सेवाको अनुभव दिंदै आएको छ । मास्टरकार्डको नयाँ डेबिट कार्ड जारी गर्नु हाम्रो यात्राको अर्को महत्वपूर्ण कदम हो,” उनले भने ।

मास्टरकार्ड दक्षिण एसियाका प्रडक्ट एण्ड सोलुसनका वरिष्ठ उपाध्यक्ष रवि दातलाले नबिल बैंकसँगको साझेदारी अझ मजबुत हुँदै गएको बताएका छन् । उनले मास्टरकार्ड ग्राहकलाई सुरक्षित, सहज र विश्वसनीय भुक्तानी प्रणाली उपलब्ध गराउन प्रतिबद्ध रहेको उल्लेख गरे ।

नबिल बैंकका अनुसार नयाँ डेबिट कार्ड आकर्षक र आधुनिक डिजाइनमा उपलब्ध हुनेछ, जसमा नेपालको राष्ट्रिय चरा ‘डाँफे’ को चित्र समावेश गरी राष्ट्रिय पहिचान र गौरवलाई झल्काइएको छ । कार्ड प्रयोगकर्ताहरूले विश्वव्यापी मास्टरकार्ड नेटवर्कबाट सेवा प्राप्त गर्न सक्नेछन् भने विभिन्न रेष्टुरेन्ट, स्पा, फिटनेस सेन्टर तथा मनोरञ्जन केन्द्रहरूमा विशेष छुटसहित प्रिमियम सुविधा पाउने बैंकले जनाएको छ ।

नबिल बैंक नेपालमा मास्टरकार्डको क्रेडिट कार्ड जारी गर्ने पहिलो बैंक हो। ग्राहकहरूले नयाँ डेबिट कार्ड प्राप्त गर्न नबिल बैंकको कुनै पनि शाखामा वा एनबैंक मोबाइल एपमार्फत आवेदन दिन सक्नेछन् ।

२५ लाखभन्दा बढी ग्राहक र देशभर रहेका २६८ शाखा तथा ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको नबिल बैंक चार दशकदेखि नेपाली बैंकिङ क्षेत्रमा नवीनता र विकासका कोसेढुङ्गा स्थापित गर्दै अग्रणी भूमिकामा रहँदै आएको छ ।

You might also like

Comments are closed.