lcci festival

‘नाडा अटो शोले अर्थतन्त्रमा नयाँ भाइब्रेसन ल्याउँछ’

डा.ध्रुव थापा, अध्यक्ष, नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालद्वारा आयोजित १५औं संस्करणको ‘नाडा अटो शो’ काठमाडौंको भृकुटी मण्डपमा जारी छ । भदौ २६ गते सुरु भएको अटो शो ३१ गतेसम्म चल्नेछ । कोभिडका कारण ४ वर्षदेखि नाडा अटो शो हुन सकेको थिएन । यद्यपि, गत वर्ष इभी शो भएको थियो । यसैक्रममा नाडा अध्यक्ष डा. ध्रुव थापासँग अटो शोमा केन्द्रित रहेर आर्थिक आवाजले गरेको कुराकानीः

नाडा अटो शो जारी छ । दर्शकको आकर्षण कस्तो छ ?

विभिन्न समस्या तथा चुनौतिका बाबजुत पनि हामीले नाडा अटो शो गरेका छौं । नाडा अटो शोमा सुरुको दिनदेखि नै दर्शकको आकर्षण देखिएको छ । हरेक स्टलमा अवलोकनकर्ताको भिड देख्न सकिन्छ । भदौ ३१ गतेसम्म नै दर्शकको आकर्षण कायम रहनेमा हामी विश्वस्त छौं ।

अटो शोले व्यवसायलाई चलायमान बनाउन सघाउला ?

देशको आर्थिक मन्दीलाई उकास्न पनि यसले सहयोग पुर्याउँछ । अटो क्षेत्र यस्तो क्षेत्र हो जुन क्षेत्रले सरकारलाई राजस्व पनि धेरै बुझाउँछ । नाडा अटो शोमा अर्बौंको कारोबार हुने भएकाले व्यवसायी पनि उत्साही भएको पाएका छौं । अर्थतन्त्र पनि चलायमान बनाउँछ । यसले बजारमा नयाँ भाइब्रेसन पनि क्रिएट गर्छ ।

अटो शोमा गाडी खरिद गर्दा ग्राहकलाई के फाइदा हुन्छ ?

अटो शोसँगै नयाँ मोडलमा गाडी आयात भएका छन् । अटो शो लगत्तै फेस्टिभ सिजन पनि सुरु भएको छ । अटो शोमा नयाँनयाँ ब्राण्ड तथा मोडलका गाडी आयात भएर नेपालमा लन्च भएका छन् । अटो शोमा नै गाडी किनौं भन्ने सोच धेरै जनामा पाइन्छ । किन भने यो समयमा पाइने अफर अन्य समयमा पाइदैन । अरु बेलाको अफर व्यवसायीले मात्र दिने गरेका छन् । अटो शोमा उत्पादक कम्पनीहरुले पनि अफर दिनुपर्छ भनेर हामीले अफर ल्याउन भन्छौं । ग्राहकले दुवै अफरको सदुपयोग गर्न पाउनुहुन्छ ।

नाडा अटो शो बिगेष्ट शो नै हो ?

देशव्यापी रुपमा मानिस अटो शो भिजिट गर्न आउनुहुन्छ । किन भने यो अवसर अन्य कुनै समयमा पनि आउँदैन । एकै ठाउँमा धेरै भेराइटीका ब्राण्ड तथा मोडलका सवारी साधनबारे जानकारी लिन तथा अवलोकन गर्न सकिन्छ । बिगत ३/४ वर्षसम्म नभएर अहिले नाडा अटो शो भएको छ । यसमा आउने सम्पूर्ण मोडल नयाँ हुन्छन् । गत वर्ष इभी शो मात्र गर्दा पनि करिव ४० हजार अवलोकनकर्ता आउनु भएको थियो । यो पटक हामीले वृहत शो गरेका छौं र अवलोकनकर्ताको सहभागिता पनि अझै उत्साहजनक छ । संसारका विभिन्न देशका गाडी उत्पादक कम्पनीबाट पनि भिजिटर आउनुभएको छ । आर्थिक हिसाबले तथा भिजिटर आउने तथा कारोबारका हिसाबले यो नेपालकै बिगेस्ट शो हो ।

अन्त्यमा के भन्नुहुन्छ ?

हामीले व्यवस्थापनमा पनि चुस्तता ल्याएका छौं । भिडभाड धेरै हुने भएकाले अनलाइन टिकेटिङ सिस्टम बनाएका छौं । यसमा क्यास ब्याक अफर पनि राखेका छौं । पार्किङलाई पनि व्यवस्थित बनाएका छौं । पिक अप र ड्रपमात्र भृकुटी मण्डपमा गर्न सकिन्छ । पार्किङका लागि विभिन्न स्थान छुट्याएका छौं । पार्किङ पछि अटो शो स्थलमा आउँदा निःशुल्क सटल बसको व्यवस्था गरेका छौं । बिहान १० बजेदेखि साझँ ७ बजेसम्म सटल बस चल्छ । जसजसले अटो शो अवलोकन गर्नुभयो उहाँहरुप्रति हामी आभारी छौं । आउन बाँकी हुनुहुन्छ भने भदौ ३१ गतेसम्म अटो शो आउनुहुन निमन्त्रणा गर्दछु ।

You might also like

Comments are closed.