अटोमोबाइल व्यवसायमा उत्साह थप्दै ‘अटो शो’, आज अन्तिम दिन

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा ‘नाडा अटो शो २०२३’ जारी छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा भदौ २६ मंगलबार सुरु भएको अटो शो भदौ ३१ आइतबार (आज) सम्म चल्नेछ । आजसम्म आइपुग्दा नाडा अटो शोमा दर्शकको उपस्थिति उत्साहजनक रहेको संयोजक अनुपकुमार बरालले जानकारी दिए । ‘उद्घाटनको दिनदेखि आजसम्म आइपुग्दा दर्शकको उत्साहजनक उपस्थिति छ,’ उनले भने । ‘आज साँझबाट कार्यक्रम सम्पन्न हुन्छ । दिनभर दर्शकको उपस्थिति बाक्लो हुने हाम्रो अपेक्षा छ।’

अटो शोमा प्रख्यात अन्तर्राष्ट्रिय ब्रान्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्रान्डका अटो सामग्री उत्पादक, वस्तु तथा सेवा प्रदायकको सहभागिता छ । प्रदर्शनीमा चार पाँङ्ग्रे १६ र दुई पाँङ्ग्रे २२ ब्रान्डको सहभागिता छ । ७ ब्रान्डका लाइट कमर्सियल भेइकल, ९ वित्तीय संस्था तथा ३० लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीको सहभागिता रहेको अध्यक्ष ध्रुव थापाले जानकारी दिए ।

अटो शोमा ठूला तथा साना गरी करिव १ सय २० स्टल र ब्लकहरु छन् । प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्रान्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्रान्डका अटो सामग्री उत्पादक, वस्तु तथा सेवा प्रदायकको सहभागिता छ । व्यवसाय चलायमान नभएको बेलामा अटो शोमा विभिन्न अटोमोबाइल कम्पनीको उत्साहजनक सहभागिताले अर्थतन्त्र चलायमान बनाउन सहयोग पुगेको नाडा महासचिव सुरेन्द्रकुमार उप्रेती (सुरेश) बताउँछन् ।

‘कोभिड संक्रमणको प्रकोप र त्यसपछि क्रमशः आर्थिक क्षेत्रमा परेको नकारात्मक प्रभावका कारण अटो व्यवसाय पनि धरासायी हुँदै गइरहेको थियो,’ महासचिव उप्रेतीले भने, ‘अब नाडा अटो शोसँगै यो क्षेत्र चलायमान हुनेछ भन्नेमा हामी आशावादी छौं ।’

देशको अर्थतन्त्रको मूल खम्बा रहेको अटोमोबाइल क्षेत्रलाई सरकारले अवहेलना गर्दा हाल समग्र अर्थतन्त्र नै धराशायी भएको उनको भनाइ छ । ‘दुई वर्षजति कोभिड १९ को महामारीदेखि सरकारले विदेशी मुद्रा सञ्चितिमा कमी आएको भन्दै करिब ८ महिना महँगा सवारी साधानमा लगाएको प्रतिबन्धका कारण आज अटोमोबाइल क्षेत्र प्रभावित बनेको हो,’ उनले भने ।

lcci
You might also like

Comments are closed.