मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षाका सम्बन्धमा के छ नाडाको धारणा ?

काठमाडौं । नेपाल राष्ट्र बैकले जेठ ४ गते आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा गरेको छ । सो समिक्षाका सन्दर्भमा ध्यानाकर्षण भएको नाडाले जनाएको छ । थोरै विषय सकारात्मक रहेपनि धेरै विषय सम्बोधन नभएको भन्दै नाडाले गुनासो गरेको छ ।

त्रैमासिक समिक्षामा बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिम भार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिम भार घटाई १०० प्रतिशत कायम गरिने व्यवस्था, त्रैमासिक समिक्षामा बैंक तथा वित्तीय संस्थाहरुको १ वर्ष अवधि व्यतीत भइसकेका लगानी मध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था मिलाइनुलाई सकारात्मक लिएको नाडाले जनाएको छ । ‘सो समिक्षामा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित असलवर्गमा वर्गीकरण भएका कर्जाहरुको लागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशतबाट घटाई १.२० प्रतिशत कायम गरिनेछ भनिएको छ, जुन ज्यादै सकारात्मक छन्,’ विज्ञप्तिमा भनिएको छ ।

नाडाले नेपालको अटोमोवाइल क्षेत्रको उत्थानका लागि आवश्यक पर्ने विभिन्न महत्वपूर्ण निम्न नीतिगत सुझावहरु दिएपनि समिक्षामा सम्बोधन नभएको महासचिव उप्रेतीले जानकारी दिए । ‘पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनहरुलाई बैकहरुबाट हायर पर्चेज लोन प्रवाह गर्ने प्रकियामा लोन टु भ्यालु रेसियोमा हाल ५० प्रतिशतको सीमा तोकिएको छ, जसले गर्दा अटोमोवाइल व्यवसाय गम्भिर रुपले प्रभावित बनेकाले लोन टु भ्यालु ५० प्रतिशत बढाएर ७५ प्रतिशत पु¥याउनु पर्ने, नेपाल राष्ट्र बैंकले पेट्रोल र डिजेलबाट चल्ने निजी प्रयोजन र व्यावसायिक महत्वका सवारी साधनहरुलाई स्पष्ट रुपमा छुट्याई सोही अनुरुप बैंक लगानी गर्न सहजीकरण गरि दिनुपर्ने, घरपरिवारको आम्दानी सामान्यतया घरका धेरै सदस्यहरूले प्रयोग गर्ने अर्थात दम्पतीले सवारी साधनको रूपमा अटोलोन उधारकर्ताको चुक्ता गर्ने क्षमताको गणना गर्दा विचार गर्नुपर्ने, सवारी साधनको लागि आफै प्रतीतपत्र खोल्दा नेपाल राष्ट्र बैंकको १० प्रतिशत धरौटी रकम लिएर मात्र प्रतीतपत्र जारी गर्ने व्यवस्थाको जिम्मेवारी सम्बन्धित बैंकहरुलाई नै प्रदान गरिनुपर्ने लगायत नाडाले दिएका सुझावहरुका विषयहरुमा समिक्षामा कुनै सम्बोधन गरिएको छैन,’ विज्ञप्तिमा भनिएको छ।

नेपाल राष्ट्र बैंकले ल्याएका आशिंक सुधारहरु सकारात्मक रहेको र नाडाले दिएका अन्य सुझावहरु पनि आउदा दिनहरुमा नेपाल राष्ट्र बैंकबाट सम्बोधन हुँदै जाने नाडाले विश्वास व्यक्त गरेको छ ।

You might also like

Comments are closed.