नाडा निर्वाचनसम्बन्धी रिट अदालतद्वारा खारेज, नयाँ कार्यसमितिले अब शपथ लिने

काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको हालै सम्पन्न निर्वाचन प्रक्रियासम्बन्धी विषयमा दायर गरिएको रिट निवेदनलाई उच्च अदालतले खारेज गरेको छ । बुधबार उच्च अदालत पाटनले उक्त रिट खारेज गरेको हो । उक्त रिट खारेज भएसँगै नाडाका नवनिर्वाचित अध्यक्ष सुरेन्द्रकुमार उप्रेती (सुरेश) नेतृत्वका नयाँ कार्यसमितिले सपथ लिने बाटो खुलेको छ ।

मुद्धा अदालतमा बिचाराधिन अवस्थामा नाडाले नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण स्थगित गरेको थियो । ‘न्यायालयप्रतिको उच्च सम्मान तथा विधिको शासनप्रतिको संस्थाको प्रतिबद्धतालाई मध्यनजर गर्दै नव–निर्वाचित कार्यसमितिको औपचारिक शपथग्रहण कार्यक्रम अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरिएकोे थियो,’ जारी विज्ञप्तिमा उल्लेख छ ।

पाटन उच्च अदालतबाट रिट निवेदन खारेज भएको निर्णय प्राप्त भएसँगै उक्त विषयसँग सम्बन्धित सम्पूर्ण कानुनी अवरोध समाप्त भएको छ । नाडाको नव–निर्वाचित कार्यसमितिको शपथग्रहणका लागि मार्ग प्रशस्त भएको छ ।

यसै सन्दर्भमा, नाडाको नव–निर्वाचित कार्यसमितिको शपथग्रहण कार्यक्रम संस्थाको विधान, विधि तथा स्थापित प्रक्रियाअनुसार निकट भविष्यमा सम्पन्न गरिने नाडाले जनाएको छ ।

नाडाले सम्मानित अदालतको निर्णयप्रति सम्मान व्यक्त गरेको छ । उक्त निर्णयले सम्बन्धित विषयमा स्पष्टता ल्याएको तथा संस्थालाई आगामी दिनमा थप स्थिरता र एकताका साथ अघि बढ्न सहयोग पु¥याउने विश्वास व्यक्त गरेको छ ।

साथै, नाडाले सम्पूर्ण सदस्य, सरोकारवाला निकाय तथा साझेदार संस्थाहरूसँग सहकार्य गर्दै नेपालको अटोमोबाइल क्षेत्रको दिगो विकास, नीतिगत संवाद तथा उद्योगमैत्री वातावरण सुदृढीकरणका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

 

You might also like

Comments are closed.