काठमाडौं । स्वर्ण जयन्तीको पूर्वसन्ध्यामा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले नेपाली अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो र प्रतिक्षित मेला ‘एच.पी. प्रेजेन्ट्स् नाडा अटो शो २०२६’ को १८ औँ संस्करण आयोजना गर्ने भएको छ।
आगामी भदौ ९ गते देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी परिसरमा हुन गइरहेको यो भव्य अटो शो सम्पूर्ण अटो, आयल एवं पार्टपुर्जा व्यवसायीहरूका लागि विशेष आकर्षण र व्यावसायिक प्रवर्द्धनको प्रभावकारी प्लेटफर्म बन्ने आयोजक नाडाले विश्वास लिएको छ।
यस वर्षको नाडा अटो शोमा साना र ठूला गरी कुल २ सय स्टल रहनेछन्। प्रदर्शनीमा २२ वटा ब्राण्डका पेसेन्जर कार भेहिकल, १६ वटा ब्राण्डका लाइट कमर्शियल भेहिकल र १२ वटा ब्राण्डका दुई पाङ्ग्रे सवारी साधनको सहभागिता रहनेछ। यसका साथै ८ वटा नेपाली उत्पादकहरूसहित ६९ वटा कम्पोनेन्ट तथा अन्य सरोकारवाला व्यवसायीले आफ्ना उत्पादन तथा सेवाहरू प्रस्तुत गर्नेछन्।
देशभरका अटो व्यवसायीमाझ मेलालाई लिएर उत्साहजनक माहोल बनेकाले हालसम्म पनि स्टलका लागि अत्यधिक माग भइरहेको छ। तर प्रदर्शनी स्थलमा उचित ठाउँको अभावका कारण इच्छुक सबै व्यवसायीलाई स्टल उपलब्ध गराउन अप्ठ्यारो परिरहेको आयोजकले जनाएको छ। स्वदेशी उत्पादनका साथै अन्तर्राष्ट्रिय ब्राण्डको सहभागिता रहने यो अटो शोले सुस्ताएको अटो बजारलाई पुनः चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।



Comments are closed.