देशभरका अटोमोबाइल व्यवसायी, कर्मचारी र श्रमिकलाई खोपको व्यवस्था गर्न नाडाको माग

काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले अटोमोबाइल क्षेत्रमा संलग्न व्यवसायी, कर्मचारी, टेक्निसियन र देशैभर छरिएर रहेका श्रमिकहरुको लागि खोप उपलब्ध गराउन माग गरेको छ । नाडाका उपाध्यक्ष करण चौधरीको नेतृत्वको टोलीले नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री उमेश श्रेष्ठलाई बुधबार मन्त्रालयमा भेटी उक्त माग गरेको हो ।

कोभिड १९ को कारण नेपालको समग्र अटोमोबाइल व्यवसाय नै समस्यामा परेको र यसको प्रत्यक्ष प्रभाव सरकारले अटोमोबाइल क्षेत्रबाट प्राप्त गर्ने राजश्वमा समेत परेको उपाध्यक्ष चौधरीले बताए । ‘सरकारले लगाएको लकडाउन हाल केही खुकुलो भएपनि नेपालको अटोमोबाइल क्षेत्रका व्यवसायीहरु, कर्मचारीहरु, टेक्निसियनहरु र देशैभर छरिएर रहेका श्रमिकहरु खोपको अभावमा आफनो कार्यक्षेत्रमा जान सकिरहेका छैनन्,’ उनले भने, ‘खाशगरी व्यवसायको फ्रण्टलाइनमा बस्ने कर्मचारी र श्रमिकहरुलाई धेरै समस्या भएको छ ।’

छलफलमा चौधरीले कोभिड १९ का कारण अटोमोबाइल व्यवसायले अझै गति लिन नसकेको बताउँदै अटोमोबाइल व्यवसायलाई थप गतिशील बनाउन खोपको तडकारो आवश्यकता रहेको बताए । तत्काल खोप उपलब्ध गराई दिने व्यवस्थाका लागि उनले आग्रह गरे । भेटघाट तथा छलफलको क्रममा राज्यमन्त्री उमेश श्रेष्ठले खोप उपलब्ध गराउन सक्दो प्रयाश गर्ने आश्वासन दिए ।

नाडाको प्रतिनिधि मण्डलले स्वास्थ्य तथा जनसंख्या सचिव लक्ष्मण अर्यालसंग पनि भेटी आवश्यक खोप उपलब्ध गराई दिनु अनुरोध गरेको छ । भेटघाट तथा छलफलमा सचिव अर्यालले निजी क्षेत्रले समेत खोप आयातगरी वितरण गर्न सकिने व्यवस्था भएकाले त्यसका लागि प्रयास गर्न आग्रह गरे । अनलाइनबाट खोपको फारम भरेर पठाउन सकिने व्यवस्था भएकाले सो भर्न समेत जानकारी दिए ।

निजी क्षेत्रबाट खोप आयात गर्दा बढी सरकारी कार्यालयबाट बढी समस्या हुने होकी भन्ने जिज्ञासामा सचिव अर्यालले सहजीकरण गरिने बताए । छलफलमा नाडाका कोषाध्यक्ष सुरेन्द्र कुमार उपे्रती, सहकोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रीय कार्य समिति सदस्यद्वय निलमणि पाठक, मीलनबाबु मल्ल, दीपक अग्रवाल र पंकज अग्रवालको उपस्थिति रहेको महासचिव सुनिल रिजालले जानकारी दिए ।

You might also like

Comments are closed.