नाडा अटो शो : व्यवसायमा थप उत्साहको आशा

काठमाडौं । बिगत केही वर्षदेखि देखिएको आर्थिक मन्दीको मार समग्र निजी क्षेत्र र व्यवसायमा पर्दै आइरहेको छ । आर्थिक मन्दीको मूख्य चपेटामा अटोमोबाइल व्यवसाय पनि प¥यो । एकातर्फ आर्थिक मन्दी र अर्कोतर्फ बैंकिङ लगानीमा गरिएको कडाईले यो व्यवसायलाई संकटमै पु¥याएको देख्न सकिन्छ । विद्युतीय सवारीमा आकर्षण बढेपनि अन्य सवारी व्यवसायमा भारी गिरावट आइरहेको छ ।

यसैक्रममा अटोमोबाइल व्यवसायलाई चलायमान बनाउने उद्देश्यलेसहित नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले वर्षेनी नाडा अटो सो आयोजना गर्दै आइरहेको छ । कोभिडका कारण ३ वर्षदेखि हुन नसकेको नाडा अटो सो गत वर्षबाट निरन्तर भइरहेको छ । गत वर्ष आयोजना भएको अटो सोले अटोमोबाइल व्यवसायमा थप उत्साह प्रदान गर्दै आर्थिक गतिविधि बढाउनसमेत योगदान गरेको थियो । नाडा अटो सोको नयाँ संस्करण ‘नाडा अटो सो २०२४’ को यस पटक भदौ ११ देखि १६ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुँदैछ ।

यस पटक नाडा अटो सो गत वर्षभन्दा वृहत आकारमा सञ्चालन हुने अटो सोका संयोजक अनुपकुमार बरालले बताए । अटो सोमा अटोमोबाइल क्षेत्रमा भएका नविनतम प्रविधिहरुको प्रदर्शनी हुनेछ,’ उनले भने । अटो सोमा २४ वटा चार–पाङ्ग्रे ब्रान्डहरू, १९ वटा दुई–पाङ्ग्रे ब्रान्डहरू र १२ हल्का व्यावसायिक सवारी साधनका ब्रान्डहरू प्रदर्शनमा राखिनेछन् । लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टका ३३ कम्पनीहरू ७ वटा बैंकका स्टलहरु पनि अटो सोको आकर्षण बन्ने संयोजक बराल बताउँछन् ।

राज्यको गलत नीतिका कारण अटोमोबाइल व्यवसायले समस्या झेल्दै आइरहेको नाडाका अध्यक्ष करण चौधरी बताउँछन् । नाडा अटो सोले अटोमोबाइल व्यवसायको महत्वलाई झल्काउने र गलत नीतिहरु सच्याउन राज्यलाई दबाब पुग्ने उनले विश्वास व्यक्त गरे । ‘यो पालीको अटो सो उत्साहका लागि भन्दा पनि हाम्रो आवश्यकताका लागि हुँदैछ । नीतिहरुलाई कसरी सच्याउन सकिन्छ भन्नेतर्फ हाम्रो ध्यान छ,’ उनले भने, ‘सरकारले नाडाको सुझाव सुनेको छैन, हामी हाम्रो सुझाव सरकारलाई सुनाएर ती सुझावहरु कार्यान्वयनमा ल्याउन दबाब दिन चाहन्छौं ।’ विद्युतीय सवारी बाहेक अटोमोबाइलका अन्य क्षेत्रको व्यापार निराशाजनक रहेको र राज्यले नाडाका सुझावहरु कार्यान्वयन गरेमा व्यवसाय चलायमान हुने उनले बताए । ‘अटोमोबाइल व्यवसाय चलायमान हुँदा त्यसको लाभ राज्यले नै लिन्छ र राजश्वमा पनि भारी बृद्धि हुन्छ ।’

अटोमोबाइल व्यवसायको विस्तार र प्रवद्र्धनका लागि नाडा अटो सो प्रभावकारी थलो बन्दै आइरहेको नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेती (सुरेश) बताउँछन् । ‘नेपालमा अटोमोबाइल व्यवसायको विकास, बिस्तार र प्रवद्र्धन गर्ने लक्ष्य र उद्देश्यसहित नाडा अटो सो हुँदै आइरहेको छ,’ उनले भने, ‘यसपटक आयोजना भएको अटो सोबाट अटोमोबाइल व्यवसाय थप चलायमान हुनेमा हामी विश्वस्त छौं ।’

नाडा अटो सोको सुरुवातसँगै अटोमोबाइल व्यवसायमा चाडपर्वको रौनक पनि सुरु हुन्छ । कम्पनीहरुले अटो सोलाई लक्षित गरी विशेष अफरहरु सार्वजनिक गरिसकेका छन् । अफरका माध्यमबाट ग्राहकलाई आफ्नो ब्राण्डप्रति आकर्षित गर्न कम्पनीहरुबीच प्रतिस्पर्धा नै हुने गरेको छ । कम्पनीहरुले ल्याएका आकर्षक अफरले बिक्री बढ्नुका साथै ग्राहकहरु पनि लाभान्वित हुने नाडाका कोषाध्यक्ष मिलन बाबु मल्ल बताउँछन् । नाडा अटो सोलाई टाटा ईभीले मुख्य प्रायोजन गरेको छ । सर्भाे लुर्बिकेन्टस् र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड सह-प्रायोजक छन् ।

lcci
You might also like

Comments are closed.