नाडा अटो शो २०२६ सुरु, उपराष्ट्रपति यादवद्वारा उद्घाटन, १४ सम्म चल्ने

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) द्वारा आयोजित ‘नाडा अटो शो २०२६’ काठमाडौँको भृकुटीमण्डपमा मंगलबार सुरु भएको छ । कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति रामसहाय प्रसाद यादवले एक विशेष समारोहका बिच अटो शोको उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा बोल्दै उपराष्ट्रपति यादवले यस्ता प्रदर्शनी तथा अटो शोले मुलुकको सुस्त रहेको आर्थिक क्षेत्रलाई चलायमान बनाउन र बजारीकरण बढाउन ठूलो योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नाडा अटो शोले अटोमोबाइल क्षेत्रमा नयाँ उत्साह सञ्चार गर्ने र समग्र देशको आर्थिक गतिविधिलाई तीव्रता दिने बताए ।

त्यस्तै, नाडाका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीले यस वर्षको संस्करण गोल्डेन जुब्ली इडिसनसमेत रहेकाले अटो शो विशेष र ऐतिहासिक हुने विश्वास व्यक्त गरे ।

भृकुटीमण्डपमा सुरु भएको अटो शो भदौ १४ गतेसम्म चल्नेछ । प्रदर्शनीमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे र कमर्सियल गरी कुल ५३ अटो ब्रान्ड प्रदर्शनीमा राखिएको छ । सवारी साधनका अतिरिक्त अटो कम्पोनेन्ट्स, विभिन्न बैंक तथा वित्तीय संस्था र इन्स्योरेन्स कम्पनीहरूको स्टलहरू समेत छन् ।

You might also like

Comments are closed.