नाडा अटो शोः ‘ड्रिम कार’ हेर्ने, बुझ्ने र बुकिङ गर्ने अवसर

काठमाडौं । कलंकीबाट नाडा अटो शो २०२४ को अवलोकन गर्न आएका बिक्रम खतिवडा हतार हतार बिवाइडीको स्टल खोज्दै थिए । अटो शोको आधा स्टल घुमीसक्दा पनि उनले बिवाइडीको स्टल नदेखेपछि सोधीखोजी गरिरहेका थिए । उनको मुख्य उद्देश्य नै बिवाइडी स्टल भिजिट गर्नु थियो । बिवाइडी स्टल चौरको पेभेलियनको अन्तिम लाइनमा रहेको जानकारी पाएपछि हतारिदै उनी त्यसतर्फ पुगे र आफ्नो ड्रिम कार अट्टो ३ अवलोकन गरे । कारसँगै फोटो पनि खिचाए । शनिबार नाडा अटो शोमा नै आएर अट्टो ३ बुकिङ गर्ने योजना उनले सुनाए ।

बानेश्वरबाट अटो शोमा आएका सुदर्शन पौडेलले आफ्नो बजेट अनुसारको कार टाटा पञ्च इभी रहेको बताए । उनले टाटा पञ्च इभी बुकिङ गर्ने सोच बनाएको र नाडा अटो शोमा आएर कारको बारेमा बुझेको जानकारी दिए । ‘भारतमा लोकप्रिय रहेको यो कार नेपालमा आएपछि बुकिङ गर्ने सोच बनाएँको थिएँ,’ उनले भने, ‘मूल्य धेरै पर्छकि भन्ने डर लागेको थियो । फूल अप्सनलाई पनि अब ४० लाख भित्रै खरिद गर्न पाउँदा मेरो बजेटले भेट्छ ।’

काभ्रेबाट नाडा अटो शोमा आएका लक्ष्मण खत्रीलाई ‘मेड इन नेपाल हुन्डाई भेन्यु’ मन परेको छ । नेपालमै उत्पादन भएको भेन्यु चढ्ने योजना उनको छ । ‘अटो शोमा अवलोकन गर्दा मलाई यो कार निकै मन पर्यो,’ उनले भने । धादिङका सुमन श्रेष्ठलाई अटो शोमा सार्वजनिक भएको नामी कार मन परेको छ । उनले छिट्टै नामी कार बुकिङ गर्ने योजना बनाइसकेका छन् ।

स्वास्थ्यकर्मीसमेत रहेका विकास थपलियालाई आफ्नो बजेट अनुसार बिएडब्लु ब्रुम्बी कार मन परेको छ । ‘हाम्रो ४ जनाको परिवारका लागि यो कार धेरै राम्रो र उपयोगी लागेको छ,’ उनले भने, ‘सस्तो पनि भएकाले मेरो बजेट अनुसार खरिद गर्न सजिलो हुनेछ,’ उनीहरुमात्रै होइन नाडा अटो शोमा आफ्नो रोजाईको कार हेर्नेहरुको भिड लागेको छ । विशेष गरी विद्युतीय गाडीमा धेरैको आकर्षण देखिएको छ । चार पाँग्रे सवारीमा मात्रै होइन दुई पाँग्रे मोटरसाइकल तथा स्कुटरमा पनि युवाहरुको वर्चश्व देखिएको छ ।

नाडा अटो शो–२०२४ मा इलेक्ट्रिक गाडीको दबदबा छ । भदौ ११ मा सुरु भएको अटो शो १६ गतेसम्म चल्नेछ । शोमा इलेक्ट्रिक कार र भ्यान सहित ३ दर्जन ब्राण्डले सहभागिता जनाएका छन् । इलेक्ट्रिक टु–हिलरको सहभागिता समेत उत्साहजनक छ ।

अटो शोमा सबैभन्दा बढी सिजी मोटर्सले ८ वटा ब्राण्डलाई प्रदर्शन गरेको छ । सिजी मोटर्सले नेटा, आयोन वाई, एक्सपेङ, अवतार, राडार, केवाइसी र किङलङ ब्राण्डका इलेक्ट्रिक गाडी तथा हिरो ब्राण्डको मोटरसाकललाई शोकेस गरेको छ । मेला स्थलबाटै एक्सपेङ, अवतार र राडार ब्राण्डलाई पहिलोपटक औपचारिक लन्च समेत गरेको छ ।

सिजी मोटर्सपछि सबैभन्दा बढी ब्राण्ड एमएडब्लुले प्रदर्शन गरेको छ । ग्रुप अन्तर्गत बिक्री हुँदै आएका दिपल, सेरेस र फोटोन ब्राण्ड मेलामा देखिएको छ । पहिलोपटक नामी र सोकोन ब्राण्डलाई मेलास्थलबाटै औपचारिक लन्चसमेत गरिएको छ । एमएडब्लु ग्रुपले यामाहा मोटरसाइकललाई समेत प्रदर्शनीमा राखेको छ ।

लक्ष्मी ग्रुपले हुन्डाई ब्राण्डका ईभी तथा कम्वसन गाडी र नयाँ ब्राण्ड काईलाई प्रदर्शनीमा राखेको छ । शारडा ग्रुपले ओमोडा र जीकर ब्राण्डका इलेक्ट्रिक कारलाई शोकेस गरेको छ । सांग्रिला मोटर्सले सिट्रोन र लिप मोटर्सका ईभी, सिप्रदीले टाटा ब्राण्डका ईभी तथा कम्वसन गाडी, पारामाउन्ट मोटर्सले एमजी र बुलिङ, कन्टिनेन्टल ट्रेडिङले किया ब्राण्डका ईभी तथा कम्वसन गाडी, साइमेक्स ईकंले बीवाइडी, जी मोटर्सले स्काइवेल र एस क्यूप इन्टरप्राइजेजले हेनरी एबं भोल्ट्स ब्राण्डका ईभीलाई प्रदर्शनमा राखेका छन् ।

मेलामा इलेक्ट्रिक भ्यानको सहभागिता समेत उल्लेख्य छ । इलेक्ट्रिक भ्यान तथा माइक्रोवस अन्तर्गत फोटोन, केवाईसी, किङलङ, एसआरएम, गोनाओ, स्काईवर्थ, डोङफेङ, सिएचटिसी, कामा, बिएडब्लु, डिएफएसके र वुलिङ ब्राण्ड सहभागी भएका छन् । मेलामा इलेक्ट्रिक टु–ह्विलर, विभिन्न ब्राण्डका अटो कम्पोनेन्ट, ग्यारेज इक्विपमेन्ट, लुब्रिकेन्ट्स, टायर, ब्याट्री र बैंक तथा वित्तीय संस्था लगायतका स्टलहरु छन् ।

नाडा अटो शोमा दर्शकको उत्साहजनक उपस्थिति देखिएको संयोजक अनुपकुमार बरालले जानकारी दिए । ‘बाँकी दिनमा पनि यो उत्साह कायम नै रहनेमा हामी विश्वस्त छौं,’ उनले भने ।

lcci
You might also like

Comments are closed.