नाडा अध्यक्ष उप्रेतीद्वारा अध्यक्षको पदभार ग्रहण

काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका नवनिर्वाचित अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले पदभार ग्रहण गरेका छन् । बिहीबार नाडाको केन्द्रीय सचिवालय टेकुमा आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष करण चौधरी समक्ष उप्रेतीले पद तथा गोपनीयताको सपथ लिएर पदभार ग्रहण गरेका हुन् ।

यसै अवसरमा अध्यक्ष उप्रेतीले पद तथा गोपनीयताको सपथ ग्रहण गर्दै आफ्नो कार्यकालमा नाडाको उद्देश्य, विधान तथा मूल्य मान्यताअनुसार संस्थालाई अझ सशक्त, सक्रिय प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले सदस्य व्यवसायीहरूको हित संरक्षण, अटोमोबाइल क्षेत्रको विकास तथा सम्बन्धित सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै अघि बढ्ने धारणा राखेका छन् ।

बैठककै क्रममा अध्यक्ष उप्रेतीले नाडा विधान २०७८ को दफा २०.१ (ङ) बमोजिम महेश पाल, दीपककुमार अग्रवाल राजेश गिरी लाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका छन् । साथै, केन्द्रीय कार्यसमितिले निकट भविष्यमै पदाधिकारी चयनका लागि निर्वाचन प्रक्रिया सम्पन्न गर्ने निर्णयसमेत गरेको छ ।

नाडाले आगामी दिनमा अटोमोबाइल क्षेत्रको समग्र विकास, व्यवसायीहरूको हकहित संरक्षण तथा नीतिगत सहकार्यलाई थप सुदृढ गर्दै अघि बढ्ने विश्वास व्यक्त गरिएको छ।

You might also like

Comments are closed.