काठमाडौँ । नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नर डा. विश्वनाथ पौडेल र नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीबीच आज भेटवार्ता भएको छ। राष्ट्र बैंकमा सम्पन्न उक्त भेटमा अटोमोबाइल क्षेत्रमा मौद्रिक नीतिसँग सम्बन्धित समस्या समाधानका लागि तत्काल कार्यान्वयनयोग्य पाँच बुँदे सुझाव प्रस्तुत गरिएको छ।
नाडा अध्यक्ष चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले गभर्नर पौडेलसँग मुलुकको अटोमोबाइल क्षेत्रले भोगिरहेको वित्तीय पहुँचको अभाव, ऋण प्रवाहमा अवरोध, कर्जा नीतिमा देखिएको असमञ्जस्यता तथा निष्पक्ष वित्तीय प्रणालीको आवश्यकता जस्ता विषयमा गम्भीर छलफल गरेको हो।
नाडाले प्रस्तुत गरेका प्रमुख सुझावहरू:
१. अटो ऋण प्रवाहको स्पष्ट कार्यान्वयन
राष्ट्र बैंकले अटो ऋण खोल्ने निर्णय लिएको एक वर्ष बितिसकेको भए पनि बैंकहरूले व्यावहारिक रूपमा ऋण प्रवाह नगरेको भन्दै नाडाले तत्कालीन स्पष्टता र कार्यान्वयन सुनिश्चित गर्न आग्रह गरेको छ।
२. Loan to Value (LTV) अनुपात ७० प्रतिशत पुर्याउन माग
हालको ५० प्रतिशत सीमाले ग्राहक र व्यवसाय दुवैलाई अप्ठ्यारो पारेको भन्दै सम्पूर्ण अटोमोबाइल सेग्मेन्टमा उक्त अनुपात यथार्थपरक रूपमा ७० प्रतिशतमा ल्याउन सुझाव दिइएको छ।
३. आयको आधारमा लचकदार कर्जा नीति
हालको कडाइपूर्ण कर्जा नीतिका कारण मध्यम वर्गीय तथा तलबमा आधारित ग्राहकलाई ऋण प्राप्तिमा समस्या भएको भन्दै नाडाले लचिलो र व्यवहारिक नीति आवश्यक रहेको बताएको छ।
४. विद्युतीय र हाइब्रिड सवारीका लागि लक्षित कर्जा योजना
दिगो ऊर्जा र वातावरणीय लक्ष्यमा योगदान गर्न विद्युतीय तथा हाइब्रिड सवारी साधनका लागि विशेष कर्जा योजना, पुनःवित्तीयन सुविधा र प्रोत्साहन कार्यक्रम ल्याउन सिफारिस गरिएको छ।
५. वित्तीय प्रणालीमा निष्पक्षता र नियमनको कडाइ
ग्राहकलाई निश्चित डिलरसँग सम्बद्ध बैंकबाट मात्र ऋण लिन दबाब दिने तथा प्रतिस्पर्धा विघटन गर्ने कार्य रोक्न राष्ट्र बैंकले कडा नियमन गर्नु पर्ने माग गरिएको छ।
अध्यक्ष चौधरीले अटोमोबाइल उद्योगले मुलुकको राजस्व, रोजगारी, प्रविधि स्थानान्तरण र दिगो विकास लक्ष्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने भएकाले नीति, वित्त र व्यवहारबीच सन्तुलन आवश्यक रहेको बताए।
कार्यक्रममा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले राष्ट्र बैंकको सहकार्यमा दीर्घकालीन आर्थिक नीति निर्माणका लागि अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने प्रस्ताव राखे।
भेटको अन्त्यमा गभर्नर डा. पौडेलले प्रस्तुत सुझावहरूलाई गम्भीरताका साथ लिने र आवश्यक समन्वयमा छलफल गरिने आश्वासन दिए।
भेटमा नाडाका सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा केन्द्रीय कार्य समिति सदस्य यमुना श्रेष्ठ र दीपेन्द्रकुमार मिश्रको पनि उपस्थिति रहेको थियो।
Comments are closed.