काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसनको पहिलो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले रितु सिंह वैद्यको अध्यक्षतामा स्थापना कालदेखि हालसम्मका प्रमुख उपलब्धि, सिकाइ र भावी रणनीतिहरूको समीक्षा गर्दै आगामी वर्षका कार्यक्रम, संस्थागत संरचना तथा रणनीतिक योजनाहरू औपचारिक रूपमा पारित गरेको छ ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष वैद्यले छोटो अवधिमै नाइमाले देशको मोबिलिटी क्षेत्रको एकीकृत र सशक्त आवाजका रूपमा आफ्नो पहिचान बनाउन सफल भएको बताइन् । उनले विगत नौ महिनामा हासिल उपलब्धिहरू उल्लेख गर्दै पहिलो NAIMA Nepal Mobility Expo 2025 को सफल आयोजनाले अटोमोबाइल क्षेत्रका सबै सरोकारवालालाई एउटै थलोमा ल्याएको र निरन्तर सञ्चालन गरिएका मोबिलिटी सिकाइ सत्रहरूले संस्थाको भूमिका अझ विश्वसनीय बनेको धारणा राखिन् ।
कार्यकारी निर्देशक राजकुमार दुलालले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन, वार्षिक कार्यक्रम तथा वित्तीय प्रतिवेदन प्रस्तुत गर्दै आगामी वर्षको कार्यक्रम र वित्तीय योजनाबारे जानकारी गराए। उनले दीर्घकालीन उद्देश्य हासिल गर्न प्रभावकारी कार्ययोजना, पारदर्शिता र जिम्मेवार वित्तीय व्यवस्थापनप्रति संस्थाको प्रतिबद्धता दोहोर्याए । सदस्यहरूले नाइमाको सक्रिय र प्रभावकारी भूमिकाको प्रशंसा गर्दै आपत्कालीन अवस्थामा राज्यका निकायलाई सहयोग गर्न पाउँदा गौरवान्वित भएको प्रतिक्रिया दिएका थिए ।
सभाले आर्थिक वर्ष २०८२/८३ का कार्यक्रमहरू पनि पारित गरेको छ, जसमा नियमित मोबिलिटी संवाद, क्षमता अभिवृद्धि तालिम, क्षेत्रगत अध्ययन तथा अनुसन्धान, नीतिगत बहस पैरवी र NAIMA Nepal Mobility Expo 2026 को आयोजना समावेश छन् । नाइमाले आगामी Mobility Expo २०८३ साल श्रावण २६ देखि ३१ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना गर्ने तयारी गरेको जानकारी पनि दिइयो ।
संस्थागत सुदृढीकरण अन्तर्गत सदस्य आकाश गोल्छाको नेतृत्वमा स्ट्राटेजी तथा मेम्बरसिप अफेयर्स कमिटी गठन गर्ने निर्णय गरिएको छ । साथै, Megatech Group Pvt. Ltd. लाई नयाँ सदस्यका रूपमा स्वागत गर्दै कम्पनीका सुरेश लोहनीलाई रिसर्च, मिडिया तथा डेटा कमिटीमा सदस्यका रूपमा मनोनयन गरिएको छ । सभामा सम्भावित र योग्य ब्रान्डहरूलाई समेट्दै मोबिलिटी क्षेत्रका सामूहिक हितका विषयमा निरन्तर संवाद अघि बढाउने प्रतिबद्धता व्यक्त गरियो ।
सभाको समापन गर्दै अध्यक्ष वैद्यले सबै सदस्यप्रति धन्यवाद व्यक्त गर्दै नेपाली मोबिलिटी क्षेत्रको दीर्घकालीन उन्नतिका लागि नाइमा निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाइन् ।





Comments are closed.