अटोमोबाइल क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड हो, राज्यले प्राथमिकता दिनुपर्छ: नाइमा अध्यक्ष वैद्य

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) की अध्यक्ष ऋतुसिंह वैद्यले अटोमोबाइल तथा मोबिलिटी क्षेत्रलाई मुलुकको आर्थिक समृद्धिमा उल्लेखनीय योगदान दिने प्रमुख क्षेत्रको रूपमा चिनाउँदै, यसलाई राज्यले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएकी छन् ।

बुधबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ को उद्घाटन सत्रमा बोल्दै, वैद्यले अटोमोबाइल क्षेत्रले सेवा क्षेत्रमा मात्र करिब ४.७ प्रतिशत रोजगारी सिर्जना गर्दै आएको र स्वास्थ्य, पर्यटन तथा वित्तीय सेवाजस्तै हजारौँ नेपालीलाई प्रत्यक्ष–अप्रत्यक्ष रूपमा रोजगारीमा संलग्न गराएको बताइन् ।

उनले विद्युतीय सवारीको बढ्दो प्रयोगसँगै हरित प्रविधिमा आधारित चार्जिङ पूर्वाधार, प्रविधिक तालिम, र नवप्रवर्तन मार्फत नयाँ अवसरहरू सिर्जना भएको उल्लेख गरिन् । “सीटीईभीटी र शिक्षा मन्त्रालयसँग सहकार्य गर्दै सीप विकासमा लगानी बढाइरहेका छौँ,” अध्यक्ष वैद्यले भनिन्, “युवालाई रोजगारयोग्य बनाउने उद्देश्यसहित श्रम शक्ति विकास अभियानमा सक्रिय छौँ, तर दीर्घकालीन सफलता सुनिश्चित गर्न स्थिर र स्पष्ट नीति अपरिहार्य छ ।”

नाइमा अध्यक्षका अनुसार, एसोसिएसनले अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको साझा आवाजका रूपमा गुणस्तरीय सेवा, जनशक्ति विकास, र शहरदेखि गाउँसम्म सवारीसाधनको पहुँच विस्तारमा कार्य गर्दै आएको छ ।

साउन २५ गतेसम्म चल्ने एक्स्पोमा ५० वटा स्टलमार्फत ४७ भन्दा बढी ब्रान्डको सहभागिता रहेको छ । १५ वटा दुईपाङ्ग्रे, १५ वटा चारपाङ्ग्रे र ५ वटा व्यावसायिक नयाँ सवारी साधनहरू एक्स्पोमै सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

कार्यक्रमको उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले गरेका थिए । एक्स्पोस्थलमा अपांगमैत्री संरचना, सुधारिएको ढल निकास प्रणाली, सुरक्षा तथा आपतकालीन सेवाहरूको समेत व्यवस्था गरिएको छ । आयोजकहरूका अनुसार, यस वर्षको एक्स्पोले नेपालमा विद्युतीय सवारीसाधनको सम्भावना र भविष्यबारे महत्वपूर्ण सन्देश दिनेछ ।

You might also like

Comments are closed.